News Desk
काठमाडौं – बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत परियारको बिहीबार बिहान करिब १० बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनी बुधबार अस्पतालमा भर्ना भएका थिए।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि आर्थिक अभाव भएको भन्दै परियारका परिवारले केही समयअघि सहयोगको आग्रह गरेका थिए।
सामाजिक सञ्जालमा भाइरल भएका सचिनले गाएका गीतहरू सर्वसाधारणका माझ लोकप्रिय बनेका थिए।
सचिनले महानायक राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए। साथै, हास्य टेलीश्रृंखला ‘मेरी बास्सै’मा समेत उनले अभिनय गरेका थिए। उनका चर्चित गीतहरूमा ‘रातो रबर एक’, ‘रूमाल खस्छ कि’, ‘के छ र हजुर’, र ‘वरको छायाले’ प्रमुख छन्।