पोखराबाट अयोध्यासम्म उडेको दुर्लभ सेतो गिद्ध फर्कियो
News Desk
Jan-04 , 2025 तारिख 12:55 बेलुका

पोखराबाट अयोध्यासम्मको यात्रा गरेर फर्किएको दुर्लभ सेतो गिद्धले वैज्ञानिक अनुसन्धानमा नयाँ अध्याय थपेको छ। आहाराको खोजीमा करिब २५० किलोमिटर दक्षिणपश्चिम उडेर भारतको धार्मिक स्थल अयोध्या पुगेको यो गिद्ध पोखरामा पुनः फर्किएको छ।

गिद्ध विज्ञ कृष्णप्रसाद भुसालको नेतृत्वमा नेपालका पाँच सेतो गिद्धमा स्याटेलाइट ट्याग लगाइएको थियो। पोखराको लामीआहाल र दोबिल्ला डम्पिङ साइटमा गत सेप्टेम्बरमा तीन वयस्क, एक अल्पवयस्क र एक बच्चा गिद्धलाई ट्र्याक गर्न ट्याग जडान गरिएको थियो।

यस क्रममा एउटा वयस्क गिद्ध अक्टोबर ३० मा पोखराबाट उडेर रूपन्देहीको गैडहवा ताल नजिक गिद्ध रेस्टुरेन्टमा पुगेको पत्ता लाग्यो। त्यसपछि लुम्बिनी क्षेत्र हुँदै भारतको बलरामपुर नजिक पाँच दिन बितायो। त्यहाँ गाईगोरुको सिनो प्रसस्त पाइने स्थानमा बसेपछि अयोध्याको घाँघरा आसपास ३ दिन बिताएको तथ्यांक देखिएको छ।

फर्किने क्रममा गिद्धले कपिलवस्तुको राजापानी सामुदायिक वनमा एक रात बितायो। त्यसपछि स्याङ्जाको पुतलीबजारमा बास बस्दै तेस्रो दिन पुनः पोखरा फर्किएको देखिन्छ।

अन्य चार गिद्धहरू तनहुँ आसपासको क्षेत्रमा घुमिरहेका छन्। गिद्धको बसाइँसराइ, आहाराको खोजी, प्रजनन स्थान र स्थानान्तरण व्यवहार अध्ययन गर्न ३० ग्रामको स्याटेलाइट ट्याग जडान गरिएको हो। झन्डै दुई लाख पर्ने यो उपकरण ‘लेग लुप हार्नेस’ विधिबाट गिद्धको ढाडमा जडान गरिएको छ।

प्रत्येक दुई घण्टामा स्याटेलाइटबाट तथ्यांक आउने हुँदा गिद्धको दिशा, गति, उचाइ, र ब्याट्रीको अवस्था पत्ता लाग्छ। घामबाट चार्ज हुने ब्याट्री ३ देखि ५ वर्षसम्म टिक्ने बताइएको छ।

संरक्षणकर्मीहरूका अनुसार गिद्धको प्रजनन याम नजिकिँदै गर्दा अनुसन्धानबाट थप नयाँ तथ्यहरू पत्ता लाग्ने आशा गरिएको छ। माघमा गुँड बनाउने गिद्ध फागुन–चैतमा अण्डा पारेर असारसम्म बच्चा हुर्काउँछ। हरेक प्रजनन चक्रमा एउटा मात्र बच्चा जन्माउने यो जाति नेपालमा दुर्लभ मानिन्छ।

हाल नेपालमा ३०० देखि १००० सेतो गिद्ध रहेको अनुमान छ, जसमा करिब आधा पोखरा उपत्यकामा पाइन्छन्। यसअघि नवलपरासीको पिठौलीबाट डंगर गिद्ध ११०० किलोमिटर यात्रा गर्दै भारतको हिमाञ्चल प्रदेश हुँदै पाकिस्तान पुगेको तथ्य पनि अध्ययनमा उल्लेख गरिएको छ।