सप्तरी र सिरहा लगायतका तराई क्षेत्रहरूमा चिसोको प्रभाव, स्थानीयहरू संकटमा
News Desk
Jan-04 , 2025 तारिख 01:18 बेलुका

सप्तरी, सिरहा र आसपासका तराई जिल्लाहरूमा पछिल्लो तीन दिनदेखि अत्यधिक शीतलहरको असर देखिएको छ। पश्चिमी सिरेटो र बाक्लो हुस्सुका कारण बालबालिका तथा वृद्धवृद्धामा चिसोजन्य रोगहरूको जोखिम बढ्दै गएको छ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चिसोको प्रभावका कारण दैनिक दुई दर्जनभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। तीमध्ये अधिकांश बालबालिका र वृद्धवृद्धा रहेको चिकित्सकहरूले बताएका छन्। चिसोले दैनिक ज्यालादारीमा निर्भर मजदूरहरू, गरिब तथा विपन्न वर्गलाई विशेष रूपमा प्रभावित बनाएको छ। उनीहरूलाई दैनिक गुजारा चलाउन समेत कठिनाइ भएको छ।

तर, स्थानीय प्रशासन र पालिकाहरूले अहिलेसम्म चिसोबाट जोगाउन कुनै प्रभावकारी योजना लागू गर्न सकेका छैनन्। सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार चिसोको असर बढ्दै गएकाले प्रभावित नागरिकलाई राहतस्वरूप दाउरा र न्यानो कपडा वितरणको तयारी भइरहेको छ।

हालसम्म चिसोको मारमा परेका नागरिकहरूले थप राहत र सहयोगको अपेक्षा गरेका छन्।