News Desk
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली पत्रकारिता क्षेत्रले लोकतान्त्रिक आन्दोलनदेखि सामाजिक तथा आर्थिक रुपान्तरणसम्म महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका छन।
नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीहरूको स्वागत समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पत्रकारिताको मुख्य ध्येय लोकतन्त्रको मजबूती र स्थायित्व हुनुपर्ने धारणा राखे।
उनले भने, “स्वतन्त्र, निष्पक्ष र व्यावसायिक पत्रकारिता तथा जनताको सूचनाको हक लोकतन्त्रको आधारस्तम्भ हो। हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ, जसले लोकतन्त्रलाई मजबुत बनाउँछ।”
सूचनाप्रविधिको तीव्र विकासले समाचार सम्प्रेषण प्रक्रियामा परिवर्तन ल्याएको उल्लेख गर्दै राष्ट्रपतिले सही सूचना पाउने जनचाहना पूरा गर्न संचार माध्यमहरू थप जिम्मेवार बन्नुपर्ने बताए।
राष्ट्रपतिले चाँडो समाचार सम्प्रेषणको होडमा मिथ्या सूचना प्रवाह भई समाजलाई दिग्भ्रमित पार्न सक्ने खतरा प्रति सञ्चारमाध्यमहरू सचेत रहनुपर्नेमा जोड दिए।
सञ्चारमाध्यमहरूलाई राज्यको चौथो अंगको रूपमा परिभाषित गर्दै उनले नवीन प्रविधिको अधिकतम उपयोग गर्दै सत्य, तथ्य र वस्तुनिष्ठ सूचनाको प्रवाहमा ध्यान दिनुपर्ने बताए।
राष्ट्रपति पौडेलले श्रमजीवी पत्रकारहरूको हकहित संरक्षण, प्रेस स्वतन्त्रताको सुनिश्चितता तथा व्यावसायिक पत्रकारिताको प्रवर्द्धनमा महासङ्घले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।