खुम्बु क्षेत्रमा पटक–पटक परकम्प
News Desk
Jan-09 , 2025 तारिख 12:10 बेलुका

सोलुखुम्बुको खुम्बु क्षेत्रमा पटक–पटक परकम्प गएको छ। मङ्गलवार गएको ठूलो भूकम्पपछि खुम्बु क्षेत्रमा साना परकम्प निरन्तर गइरहेका छन्। 

आज (बुधवार) विहान ३:३० बजे र ५:३० बजे खुम्बु क्षेत्रको दिङबोचे क्षेत्रमा भूकम्पका परकम्प महसुस गरिएको छ। त्यसपछि विहान ९:३० बजे थाम्बुचे क्षेत्रमा र साँझ ५:३० बजे लुक्ला तथा पैयाँ क्षेत्रमा पनि परकम्पका झट्का अनुभव गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 

प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले परकम्पका कारण स्थानीय बासिन्दामा त्रास बढेको जानकारी दिए। 

उनले भने, “खुम्बु क्षेत्र जहाँ मङ्गलवार गएको भूकम्पको केन्द्र तिब्बतनजिक पर्छ, त्यहाँ धेरै परकम्प गइरहेका छन्, जसले गर्दा स्थानीयवासीमा त्रास उत्पन्न गराएको छ तर सम्भावित सहयोगका लागि प्रहरीहरू स्थानीयवासीसँगै छन्।”

परकम्पले छिनछिनमा धक्का दिन थालेपछि स्थानीयवासी घरभित्र छिर्नसमेत डराइरहेको स्थानीय पासाङ शेर्पाले बताए। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलवार विहान ६ बजेर ५० मिनेट जाँदा नेपाल–चीन सीमा क्षेत्रमा पर्ने तिब्बतमा ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो।

यस भूकम्पका परकम्प नै खुम्बु क्षेत्रमा महसुस भएको अनुमान गरिएको छ। खुम्बु तिब्बतको नजिकपर्ने भएकाले त्यस क्षेत्रमा परकम्पको धक्का बढी महसुस गरिएको हुनसक्ने बताइएको छ।