News Desk
बारा। बाराको कोल्हवी नगरपालिका वार्ड नं ५ र ११ मा एकेडेमी अफ ग्लोबल हेल्थ डेभलमेण्ट एण्ड ईनोभेसन (दिगण्त) ले लोकल ईनिसियटिभ फर ट्रान्सफरमेशन (लिफ्ट्) परियोजनाअन्तर्गत स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा सिमान्तकृत समुदायका ७० जना जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा मधुमेह, उच्च रक्तचाप, र आँखा सम्बन्धी समस्या भएका ज्येष्ठ नागरिकहरूलाई थप उपचारका लागि अस्पताल पठार्इएको छ। जाडो मौसममा न्यानो बस्नका लागि उनीहरूलाई कम्बल पनि वितरण गरिएको छ।
यसैगरी, वार्ड नं ५ स्थित ककडीका तीनवटा प्राथमिक विद्यालयका ३०० जना विद्यार्थीहरूलाई न्यानो टोपहीरू समेत वितरण गरिएको छ।

कार्यक्रमका क्रममा स्थानीय सरकारी अधिकारीहरूसँग बैठक पनि आयोजना गरिएको थियो। बैठकमा दिगन्त परियोजनाले स्वास्थ्य प्रणाली सुदृढीकरण र सामुदायिक स्वास्थ्य सेवा प्रदायक योजनाका लागि स्थानीय स्तरमा प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा छलफल भएको थियो।
वरिष्ठ बालरोग विशेषज्ञ तथा संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)का पूर्व बरिष्ठ अधिकारी डा. हरिकृष्ण बाँस्कोटाको अवधारणा र अन्य दाताहरुसहितको सहयोगमा कार्यक्रम सम्पन भएको हो ।
सिमान्तकृत समुदायका जेष्ठ नागरिक र बालबालिकाहरूको स्वास्थ्य सुधार र स्थानीय स्वास्थ्य सेवाको सुदृढीकरणमा नयाँ आयाम थप्ने अपेक्षासहित स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरिएको डा. हरि कृष्ण बाँस्कोटाले बताउनुभयो।



