रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न कास्की जिल्ला अदालतको आदेश
News Desk
Jan-10 , 2025 तारिख 02:40 बिहान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न कास्की जिल्ला अदालतले आदेश दिएको छ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेका लागि ६५ लाख र गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशीका लागि ८८ लाख रुपैयाँ धरौटी माग गरेको हो।

पुस ७ गते, कास्की जिल्ला अदालतमा लामिछानेसहित ४४ जनाविरुद्ध ठगीसम्बन्धी मुद्दा दर्ता भएको थियो। उनीहरूमाथि सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगानी गरी दुरुपयोग गरेको आरोप लागेको छ। लामिछाने गोरखा मिडियाका पूर्वप्रबन्ध निर्देशक र सेयर सदस्य पनि हुन्। हाल गोरखा मिडियाका पूर्व उपाध्यक्ष तथा पूर्व प्रहरी नायव महानिरीक्षक छविलाल जोशी कास्की प्रहरीको हिरासतमा रहेका छन्।

प्रतिवादीहरूविरुद्ध ठगीमात्र नभई संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा समेत दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले यो प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। प्रतिवादीहरूमाथि एक अर्ब ५१ करोड रुपैयाँ बिगो भरपाई माग गरिएको छ।