मकवानपुरमा सवारी दुर्घटना: मृत्यु हुनेको संख्या २ पुग्यो, १० गम्भीर घाइते
News Desk
Jan-12 , 2025 तारिख 12:18 बेलुका

मकवानपुरको मनहरीमा शुक्रबार भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएकी चितवनकी ५० वर्षीया सुनिता श्रेष्ठको उपचारका क्रममा निधन भएको छ। नयाँ मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको अवस्थामा साँझ उनको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

यसअघि, सोही दुर्घटनामा परेका कार चालक, हेटौँडा उपमहानगरपालिका-१० का ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको पनि अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो।

शनिबार बिहान हेटौँडाबाट चितवनतर्फ गइरहेको बागमती प्रदेश ०१-०२६ च ५२५० नम्बरको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आइरहेको बा १६ च ८३२४ नम्बरको कार मकवानपुरको मनहरी गाउँपालिका-६ स्थित गड्यौली नजिकै ठोक्किँदा ठूलो क्षति भएको हो।

दुर्घटनाका समयमा दुबै सवारी तीव्र गतिमा रहेको र तीव्र मोडमा दुबै गाडी एकअर्कालाई ठोक्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। ठक्करपछि दुबै गाडीमा रहेका १२ जना यात्रु घाइते भएका थिए l

घटनामा परेकामध्ये १० जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ। घाइतेहरूलाई तुरुन्तै चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो।

फरार चालकको खोजी जारी

दुर्घटनापछि स्कार्पियो चालक, रौतहट घर भएका किशन जैसवाल फरार रहेका छन्। प्रहरीले उनको खोजी तीव्र बनाएको जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार फरार चालकलाई चाँडै पक्राउ गरी घटनाको थप अनुसन्धान अघि बढाइनेछ।

दुर्घटनाको प्रारम्भिक कारण तीव्र गतिको लापरवाही र मोडमा गतिको नियन्त्रण गर्न नसक्नु भएको अनुमान गरिएको छ। दुबै गाडीमा यात्रुहरूको सङ्ख्या अत्यधिक भएको र चालकहरू लापरवाह देखिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्थानीय बासिन्दा तत्काल घटनास्थलमा पुगेका थिए। उनीहरूले घाइतेहरूलाई गाडीबाट निकाल्न र अस्पताल पुर्‍याउन सहयोग गरेका थिए। स्थानीयले घटनास्थलमा एम्बुलेन्स ढिला आएको भन्दै आक्रोश पनि व्यक्त गरेका छन

यस घटनाले  सडक सुरक्षाका मापदण्डको कडाइ गर्न नीतिगत पहलको आवश्यकता रहेको स्थानीयले माग गरेका छन्।

प्रहरीले सबै घाइतेहरूको अवस्थाबारे जानकारी अद्यावधिक गर्ने र दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान गर्ने जनाएको छ।