संगीत, शब्द र सिर्जनामा नयाँ उचाइ चुमिरहेका गायक तथा संगीतकार राजु भट्टराई
News Desk
Jan-13 , 2025 तारिख 02:56 बेलुका

संगीत, शब्द र सिर्जनामा दिनानुदिन नयाँ उचाइ चुमिरहेका गायक तथा संगीतकार राजु भट्टराईले हालै एक छोटो संवादमा हामी सबैलाई सम्बोधन गर्ने प्रेरणादायी विचार प्रस्तुत गर्नुभयो। उहाँको सन्देशले मात्र हौसला प्रदान गरेन, सफलताको सही अर्थ पनि उजागर गर्‍यो।

उहाँले भन्नुभयो, “मनमा लागेको राम्रो कामको प्रयास नगरी सफलतालाई चुम्न सकिँदैन। सफलता हासिल गर्नको लागि यात्रा तय गर्नु पर्छ, जसमा थकान र हौसला दुवै हुन्छन्। जब हामी थकानलाई बिर्सेर, हौसलालाई समातेर आफ्नो गन्तव्यतर्फ अघि बढ्छौं, बाधा र अवरोधलाई पन्छाउँदै ध्यान लक्ष्यमा केन्द्रित राख्छौं, सफलता प्राप्त हुन्छ। निरन्तर काम गर्दै जाँदा मात्र हामीले चाहेको गन्तव्यमा पुग्न सक्छौं।”

भट्टराईको विचारमा, कुनै पनि सानो वा ठूलो कामको शुरुवात नै सफलताको सुरुवात हो। निरन्तर प्रयास र धैर्यताको साथ काम गर्न सक्नेले मात्र स्थायी सफलता प्राप्त गर्न सक्छ। उहाँले थप्नुभयो, “छिटो आउने प्रतिफल सधैं टिकाउ हुँदैन। त्यसैले दृढ अठोट र निरन्तर प्रयास नै सफलताको प्रमुख सूत्र हो।”

नयाँ गीत: "ठूलीको फूली"

गायक भट्टराईको आफ्नै स्वर, संगीत र शब्दको सिर्जनामा आधारित गीत "पिरतीनगरी" ले धेरैको मन जित्न सफल भइसकेको छ। अब उहाँ अर्को कोशेली "ठूलीको फूली" लिएर आउने तयारीमा हुनुहुन्छ। यो गीत पनि उहाँकै स्वर, संगीत र शब्दमा तयार भएको हो।

संगीत क्षेत्रमा छोटो समयमै उत्कृष्टता हासिल गर्दै राजु भट्टराईले आफूलाई कुशल क्रियटिभ र डिजिटल एक्सपर्टका रूपमा स्थापित गर्नुभएको छ। उहाँका सिर्जनाहरूले श्रोता तथा दर्शकहरूलाई गहिरो प्रभाव पारेका छन्। आगामी गीतले पनि दर्शकहरूको मन जित्नेमा कुनै शंका छैन।

राजु भट्टराईजस्तो प्रेरणादायी व्यक्तित्वबाट हामीले निरन्तर प्रयास, हौसला, र धैर्यताको महत्त्व सिक्न सक्छौं। उहाँका विचार र सिर्जनाले हामी सबैलाई सफलताका पाइलाहरू अघि बढाउन उत्प्रेरित गर्छ।