क्यानडामा भव्य गजल साँझ सम्पन्नः नेपाली साहित्य समाजको साङ्गीतिक र साहित्यिक प्रस्तुति
News Desk
Jan-13 , 2025 तारिख 03:16 बेलुका

नेपाली साहित्य समाज क्यानडाले यही जनवरी ११, शनिबार साँझ ब्राम्प्टनको बुखारा ग्रिल मा भव्य गजल साँझ आयोजना गर्‍यो। नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान गर्दै साहित्य र संगीतको माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्न र प्रवासमा नेपाली साहित्यिक तथा सांस्कृतिक सम्पदालाई प्रवद्र्धन गर्न समाजले यो कार्यक्रमलाई अर्को महत्त्वपूर्ण कदमका रूपमा अघि सारेको हो।

कार्यक्रममा दुई दर्जनभन्दा बढी गजल तथा आधा दर्जन गजल गीतहरूको मनमोहक प्रस्तुति रहेको थियो। नेपाली साहित्य समाजका अध्यक्ष डा। खेम गुरागाईंले कार्यक्रम संयोजन, प्रचार-प्रसार, आर्थिक व्यवस्थापन र स्वयम सेवामा महत्त्वपूर्ण योगदान पुर्‍याउने ध्रुव भट्टराई, निराजन क्षेत्री, प्रकाश रिमाल, सन्दीप अर्याल, दामोदर पोखरेल, रविन्द्र लम्साल, रविन थपलिया, युवराज भण्डारी, पारु पाण्डे तथा कार्यक्रम स्थल उपलब्ध गराउने बुखारा ग्रिलप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो। साथै, निम्तो स्विकारी सहभागिता जनाउने सबैलाई धन्यवाद दिँदै समाजका महासचिव मोहन खरेलले कार्यक्रम सञ्चालनको सुरुवात गर्नुभयो।

साहित्यिक प्रस्तुति र सांगीतिक माहोल

कार्यक्रमको अध्यक्षता गरिरहनुभएका खेम गुरागाईंको सुमधुर गजल वाचनपछि युवराज भण्डारीले गजल प्रस्तुतिको सुरुवात गर्नुभयो। त्यसपछि क्रमशः पारु पाण्डे, रविन्द्र लम्साल, लक्ष्मी न्यौपाने, दीपकराज अधिकारी, कपिल सुवेदी, गोपीकृष्ण काफ्ले, माधव बराल, रविन थपलिया, राधिका कुसुम, रुक्मिणी उपाध्याय, शरद मैनाली, नारायण सापकोटा, रामचन्द्र अधिकारी, कृष्ण खड्का, कृष्ण प्रसाद पोखरेल, किस्मत भण्डारी, अनुप न्यौपाने, अमित उपाध्याय, र गोविन्दसिंह रावतलगायतले आफ्ना सिर्जनाहरू वाचन गरे।

कार्यक्रमका प्रमुख आकर्षणहरूमा खेम गुरागाईं, लक्ष्मी न्यौपाने, रविन्द्र घिमिरे, केशव दाहाल, देव भट्टराई र शरद मैनालीले गजल वाचनका बीचमा प्रस्तुत गरेका गजल गीतहरूले माहोललाई झनै आकर्षक र गुन्जायमान बनाएको थियो।

गजलप्रेमलाई सुदृढ बनाउँदै

कार्यक्रमले क्यानडामा रहेका नेपालीहरूको गजलप्रेमलाई थप सुदृढ बनाएको नेपाली साहित्य समाजको ठहर छ। दिग्गज स्रष्टाहरूको उपस्थिति र नवप्रतिभाहरूको प्रोत्साहनले यो कार्यक्रमलाई विशेष गरिमामय बनायो।

समाजको यो प्रयासले प्रवासी नेपालीहरूमा साहित्यिक चेतना र सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै नेपाली साहित्यलाई विश्वमञ्चमा प्रवद्र्धन गर्ने दिशामा थप बल पुर्‍याउने विश्वास गरिएको छ।