नेशनल प्याब्सन बुढानिलकण्ठ नगर समितिको छलफल कार्यक्रम सम्पन्न
News Desk
Jan-16 , 2025 तारिख 02:54 बिहान

नेशनल प्याब्सन बुढानिलकण्ठ नगर समितिले नेशनल प्याब्सन आठौं महाधिवेशन तयारीका लागि आज विशेष छलफल कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको प्रमुख आतिथ्यता नेशनल प्याब्सनका संस्थापक अध्यक्ष तथा आठौं महाधिवेशन तयारी समितिका संयोजक गिता राणाले गर्नुभएको थियो।

कार्यक्रममा नेशनल प्याब्सन केन्द्रीय अध्यक्ष पाण्डब हमाल, महासचिव पारसमणि दाहाल, कोषाध्यक्ष प्रताप थापा, पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा केन्द्रीय सल्लाहकार सूर्य बहादुर अधिकारी, बागमती प्रदेश अध्यक्ष नारायण कर्म कार्की, काठमाडौं जिल्ला वरिष्ठ होम बहादुर अधिकारी, उपाध्यक्ष विनय श्रेष्ठ, काठमाडौं महानगर समिति अध्यक्ष विजय खरेल, र बुढानिलकण्ठ नगरपालिका अध्यक्ष तेन्जिङ भुटियालगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय प्रतिनिधिहरू, काठमाडौं जिल्ला समिति सदस्यहरू, बुढानिलकण्ठ नगर समिति पदाधिकारीहरू, र काठमाडौं महानगरपालिका तथा बुढानिलकण्ठ नगरका सदस्य विद्यालयका प्रतिनिधिहरूले सहभागीता जनाएका थिए।

कार्यक्रमका वक्ताहरूले नेशनल प्याब्सनको भावी योजना, आठौं महाधिवेशन तयारीका चरणहरू, र निजी विद्यालयहरूको सामूहिक हितका लागि आवश्यक रणनीतिहरूमा विस्तृत छलफल गरेका थिए। प्रमुख अतिथि राणाले महाधिवेशनलाई सफल बनाउनका लागि सबै सदस्यहरूको सक्रिय सहयोग र सहकार्यको आवश्यकता रहेकोमा जोड दिनुभयो।

कार्यक्रमले नेशनल प्याब्सनको संगठनात्मक एकताका लागि नयाँ दृष्टिकोण दिनुको साथै आगामी महाधिवेशनलाई प्रभावकारी रूपमा सम्पन्न गर्न ठोस मार्गदर्शन गरेको छ।