स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि लामिछाने ६० लाख धरौटीमा रिहा
News Desk
Jan-16 , 2025 तारिख 12:18 बेलुका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन्। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले ६० लाख रुपैयाँ धरौटी मागेपछि लामिछानेले उक्त रकम बुझाएर रिहा भएका हुन्।

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले उनलाई ६५ लाख रुपैयाँ धरौटी तोकेको थियो। लामिछानेले तत्कालै उक्त रकम बुझाएर रिहा भएका थिए।

गत आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका रवि त्यसपछि प्रहरी हिरासतमा रहेका थिए। अदालतमा धरौटी प्रक्रिया चलिरहँदा बाहिर उनका समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो। यस क्रममा सहकारी पीडित बचतकर्ताका तर्फबाट बहस गरिरहेका वकिलमाथि समर्थकहरूले हातपात गरेका थिए।

ठगीको आरोप र बिगो दाबी
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध पुस २१ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। अभियुक्तहरूमाथि २ अर्ब ४१ करोड रुपैयाँको ठगी गरेको आरोप लगाइएको छ।

यस मुद्दामा रविमाथि ५ करोड ८ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ भने उनका साझेदार पूर्वडीआईजी छविलाल जोशीमाथि ५ करोड ७८ लाख बिगो तोकिएको छ। सहकारीको रकम गैरकानुनी तरिकाले गोर्खा मिडिया नेटवर्कमा लगानी गरी बचतकर्तालाई ठगेको आरोप दुवैजनामाथि छ।

जीबी (गितेन्द्रबाबु) राईसहित अन्य अभियुक्त फरार रहेको जानकारी प्राप्त भएको छ।

अदालतले तत्काल अभियुक्त निर्दोष वा दोषी भनी ठहर गर्न नसकिने आदेशमा उल्लेख गरेको छ।