'ट्राफिक प्रहरी कार्यालयमा बसेर सवारीसाधनलाई कारबाही गरिरहेका हुन्छौँ' : ट्राफिक प्रमुख
News Desk
Jan-17 , 2025 तारिख 12:34 बेलुका

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुखसमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ट्राफिक प्रहरीको उद्देश्य सवारी चालकलाई कारबाही गर्ने नभएको बताएका छन।

बिहीवार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यलयद्वारा आयोजित परिचयात्मक कार्यक्रममा प्रमुख घिमिरेले यस्तो बताएका हुन। उनले ट्राफिक प्रहरीले सवारी चालकलाई जिम्मेवार बनाउन कारबाही गर्नुपरेको धारणा राखे। 

उनले पछिल्लो समय समयक्रमअनुसार सवारीसाधनलाई गरिने कारबाही फरक भएको बताए। उनले ट्राफिक प्रहरीले विगतमा धेरै सवारीसाधनलाई कारबाही गर्दा राम्रो काम गरेको देखाउन गर्ने गरेको भए पनि अहिले त्यसमा कमी भएको बताए। 

ट्राफिक प्रहरी प्रमुख घिमिरेले अहिले ट्राफिक प्रहरीको प्राथमिकतामा कारबाही नभएको उल्लेख गरे। उनले ट्राफिक सचेतना तथा सडक सुरक्षा शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। 

उनले ट्राफिक प्रहरीले प्रविधिलाई जोड दिएर अहिले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बसेर सवारीसाधनलाई कारबाही गरिरहेको उल्लेख गरे। उनले सडक लेनको कारबाहीमा परेका चालकहरुले लिने कक्षालाई अनलाइन बनाउन लागिरहेको बताए।

‘पछिल्लो समय समयक्रमअनुसार सवारीसाधनलाई गरिने कारबाही फरक भएको छ। ट्राफिक प्रहरीले विगतमा धेरै सवारीसाधनलाई कारबाही गर्दा राम्रो काम गर्‍यो भन्ने हुन्थ्यो। अहिले ट्राफिक सचेतना तथा सडक सुरक्षा शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ‚’ उनले भने, ‘ट्राफिक प्रहरीले प्रविधिलाई जोड दिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बसेर सवारीसाधनलाई कारबाही गरिरहेका हुन्छौँ। सडक लेनको कारबाहीमा परेका चालकहरुले लिने कक्षालाई पनि अनलाइन बनाउन लागिरहेका छौँ।’