रवि लामिछाने हिरासतमा रहेको बेला उनको तस्बिर खिचेर सार्वजनिक गर्ने निकोलस भुसालविरुद्ध मुद्दा दर्ता 
News Desk
Jan-17 , 2025 तारिख 12:38 बेलुका

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा रहेको बेला उनको तस्बिर खिचेर सार्वजनिक गर्ने निकोलस भुसालविरुद्ध मुद्दा दर्ता भएको छ।

प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार अदालतमा मुद्दा दायर गरेको जानकारी कार्यालय प्रमुख कमला काफ्लेले दीन। भुसालमाथि विद्युतीय अपराधको अभियोग लगाइएको छ।

निकोलस भुसाललाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो। बिहीबार उनलाई अभियोग पत्रसहित अदालतमा प्रस्तुत गरियो। अदालतले उनलाई थप अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयका एसपी श्यामबाबु ओलियाले बताए।

शुक्रबार भुसाललाई पुनः अदालतमा उपस्थित गराइनेछ, जहाँ उनको बयान हुनेछ। यदि थुनछेक बहस नसकिएमा उनलाई फेरि हिरासतमा फिर्ता पठाइनेछ। थुनछेक बहसपछि अदालतले उनी पुर्पक्षका लागि कारागार चलान हुने वा थुनाबाहिरै रहेर मुद्दा लड्न पाउनेबारे निर्णय गर्नेछ।

निकोलस भुसालले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा हिरासतमा रहेका रवि लामिछानेलाई भेट्ने क्रममा तस्बिर खिचेर सार्वजनिक गरेका थिए। भुसाललाई लामिछानेकै समर्थक मानिन्छ।

हिरासतमा रहेका व्यक्तिको गोपनीयता उल्लङ्घन गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो। यसअघि, पुस ८ गते अदालतमा उपस्थित गराउँदा अदालतले उनलाई तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। अनुसन्धानपछि बिहीबार उनीविरुद्ध औपचारिक रूपमा मुद्दा दायर गरिएको हो।

अदालतले पुर्पक्ष नसकिएसम्म उनलाई प्रहरीकै निगरानीमा राख्ने आदेश दिएको छ। यसैगरी, यसअघि हिरासतमा रहेका रवि लामिछानेलाई पनि थुनछेक बहस नसकिएसम्म हिरासतमा राखिएको थियो। पछि अदालतले धरौटी माग गरेपछि लामिछाने धरौटी बुझाएर रिहा भएका थिए।