सुप्रिम सहकारी अपचलन प्रकरण: रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दर्ता
News Desk
Jan-21 , 2025 तारिख 01:42 बेलुका

बुटवल, माघ ७ - सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिल कार्यालयका अनुसार सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण जस्ता कसुरमा रवि लामिछाने, छविलाल जोशी, जीबी राईसहित अन्य १४ जनाविरुद्ध पूरक अभियोग दायर गरिएको छ। यससँगै, सुरु मुद्दाका २८ जना प्रतिवादीहरूमाथि थप कसुर र बिगो माग गरिएको छ।

जिल्ला सरकारी वकिल प्रेमराज पौडेलका अनुसार यो प्रकरणमा कुल ८६ करोड १८ लाख रुपैयाँको अपचलन भएको पाइएको छ। रवि लामिछाने, छविलाल जोशी, र लक्ष्मीप्रसाद पौडेलको हकमा १० करोड ९९ लाख रुपैयाँ बिगो दाबी गरिएको छ भने गोर्खा मिडियामा २ करोड रुपैयाँको आर्थिक लेनदेन भएको तथ्य खुलेको छ।

अनुसन्धानले १ अर्ब ३१ करोड बचत रकममध्ये ८६ करोडभन्दा बढी अपचलन भएको देखाएको छ। सुप्रिम सहकारीको नाममा नक्कली ऋणी खडा गरी रकम निकालिएको थियो। सहकारीका तत्कालीन अध्यक्ष ओमप्रकाश गुरुङलाई यसअघि नै पुर्पक्षका लागि थुनामा राखिएको छ।

यस प्रकरणमा जीबी राईसहितका केही प्रमुख व्यक्ति अझै फरार रहेको जनाइएको छ। अदालतले यसअघि २८ जनाविरुद्ध मुद्दा दर्ता गरिसकेको थियो, जसमा अहिले थप १७ जनाविरुद्ध बिगो माग गरिएको छ।

२०५७ सालमा स्थापना भएको मैत्रेय सहकारीलाई २०७२ फागुनमा नाम परिवर्तन गरी सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका रूपमा दर्ता गरिएको थियो। सहकारी ठगीको यो प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित ६ जना यसअघि नै धरौटीमा छुटेका थिए।

सहकारीको रकम अपचलन र संगठित अपराधमा संलग्न सबै दोषीमाथि कानूनी कारबाहीका लागि अनुसन्धान जारी रहेको छ।