साहिब दरबार वीरगञ्ज नेपालको समन्वयमा विभिन्न वडाका गरिब, एकल महिला, र ज्येष्ठ नागरिकलाई लक्षित गरी कम्बल वितरण
News Desk
Jan-22 , 2025 तारिख 09:38 बेलुका

वीरगञ्ज - वीरगञ्ज महानगरपालिकाले साहिब दरबार वीरगञ्ज नेपालको समन्वयमा बुधबार पनि विभिन्न वडाका गरिब, एकल महिला, र ज्येष्ठ नागरिकलाई लक्षित गरी कम्बल वितरण गरेको छ। जाडो मौसममा चिसोबाट प्रभावित विपन्न समुदायलाई सहयोग पुर्‍याउने उद्देश्यले महानगरपालिकाले यसपालि पनि कम्बल वितरण कार्यक्रमलाई निरन्तरता दिएको हो।

साहिब दरबार वीरगञ्जका अध्यक्ष उमेशलाल सहनीका अनुसार, बुधबार वीरगञ्ज–१९ बिन्दवासिनी र बरवा गाउँमा १७६ जनालाई तथा वीरगञ्ज–१६ नगवामा २ सय जनालाई कम्बल वितरण गरिएको छ। यसरी कुल ३७६ जनाले न्यानो कपडाको सहयोग पाएका छन्।

कम्बल वितरण कार्यक्रममा साहिब दरबार वीरगञ्जकी अभिभावक अन्नपूर्णा मानन्धर, संगिता दास, सुरज गुप्ता, बरकतुन नेशा, हफिज मियाँ, वीरगञ्ज–१९ का वडा सदस्य उपेन्द्र यादव र विनोद चौरसिया, वीरगञ्ज–१६ का वडा सदस्य लवंगी देवीलगायतको उपस्थिति थियो।


यसअघि सोमबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौं र वडा नम्बर २७ दरदरवामा गरी २०५ जनालाई कम्बल वितरण गरिएको थियो। साहिब दरबार वीरगञ्जका अध्यक्ष सहनीका अनुसार, गरिब, एकल महिला र ज्येष्ठ नागरिकहरूलाई लक्षित गर्दै वितरण कार्यक्रम सञ्चालन गरिएको हो।

महानगरपालिकाको यस पहलले चिसोले प्रभावित विपन्न वर्गलाई राहत पुर्‍याउने अपेक्षा गरिएको छ। यो कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पारेको जनाइएको छ।