News Desk
भरतपुर महानगरपालिका, चितवनले चालु आर्थिक वर्ष २०८१/८२ मा वडा नम्बर २९ का सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिक २ हजार रुपैयाँका दरले १२ महिनाको आवास भत्ता दिने भएको छ।
महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ देखि आवास भत्ता प्रदान गर्न थालेको हो। त्यो वर्ष शिक्षकहरूले ९ महिनाको भत्ता पाएका थिए। महानगरपालिकाका शिक्षा अधिकृत सुवास आचार्यका अनुसार यस वर्ष भने १२ महिनाको पूर्ण भत्ता वितरण गरिनेछ।
वडा नम्बर २९ का राजमार्गसँग नजोडिएका सामुदायिक विद्यालयमा कार्यरत वडाबासी बाहेकका ३३ शिक्षकलाई यो सुविधा उपलब्ध गराइनेछ। वडामा ११ वटा सामुदायिक विद्यालय छन्, जसमध्ये १० वटा विद्यालय राजमार्गबाट टाढा छन।
कमलपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद पौडेलले गत वर्ष ९ महिनाको भत्ता पाएको अनुभव सुनाउँदै यो वर्षको १२ महिनाको भत्ताले शिक्षकहरूलाई थप प्रोत्साहन हुने बताए। उनका अनुसार यस क्षेत्रमा प्रायः कच्ची घरहरू भएकाले आवास भत्ताले धेरै राहत पुर्याएको छ। उनले भत्ता रकम वृद्धि गर्नुपर्ने र शिक्षकहरूको प्रोत्साहनमा ध्यान दिनुपर्ने सुझाव पनि दिए।
त्यस्तै, राष्ट्रिय माध्यमिक विद्यालय, चौकीडाँडाका प्रधानाध्यापक नवराज रिसालले महानगरपालिकाको यो काम शिक्षकहरूका लागि सकारात्मक भएको बताए। विकट क्षेत्रका शिक्षकलाई जागिरमा टिकाइराख्न यो योजना प्रभावकारी भएको उनको भनाइ छ।
शिक्षा अधिकृत आचार्यले शिक्षकको प्रोत्साहनका लागि महानगरपालिकाले लिएको यो कदम सम्भवतः पहिलो प्रयास भएको बताए। गत वर्ष मंसिरको अन्त्यमा सूचना निकालेर शिक्षकहरूलाई कागजात पेस गर्न भनेपछि भत्ता वितरण गरिएको थियो। यस वर्ष भने योजना अझ व्यवस्थित हुने बताइएको छ।