News Desk
माघ १३, आइतबार — स्वास्थ्य मन्त्री माननीय प्रदीप पौडेलले नेपालकै उत्कृष्ट सामुदायिक अस्पताल, सामुदायिक स्वास्थ्य सेवा परिषद, डल्लु आवासको अवलोकन भ्रमण गर्नुभयो। भ्रमणका क्रममा मन्त्री पौडेलले परिषदका ए ब्लक, बी ब्लक, र सी ब्लक भवनबाट प्रदान गरिरहेका स्वास्थ्य सेवाबारे जानकारी लिनुभयो।
मन्त्री पौडेलले यो सामुदायिक अस्पतालले व्यवस्थित रूपमा गुणस्तरीय सेवा प्रदान गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो। साथै, स्वास्थ्य मन्त्रालयले आफ्नो कार्यकालमा यस सामुदायिक अस्पताललाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो।
सामुदायिक स्वास्थ्य सेवा परिषदका मेडिकल सुपरिटेन्डेन्ट डा. बुलन्द थापाले मन्त्रीलाई अस्पतालद्वारा हाल प्रदान गरिएका सेवाहरू तथा आगामी दिनमा आवश्यक पर्ने स्वास्थ्य उपकरणहरूबारे जानकारी दिनुभयो।
यसअघि परिषदका अध्यक्ष हरी गोपाल श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट डा. बुलन्द थापाले मन्त्रीलाई माला र बुकेद्वारा स्वागत गर्नुभएको थियो।
उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष ईश्वर मान डंगोलको पनि उपस्थिति थियो। कार्यक्रममा परिषदका पदाधिकारी, कार्यसमिति सदस्य, साधारण सदस्य, आजीवन सदस्य, तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।