News Desk
भारतले गण्डकी प्रदेशमा रहेका भूपू गोर्खा सैनिकलाई वार्षिक ३५ अर्ब रुपैयाँ पेन्सन भुक्तानी गर्ने गरेको छ।
भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा भारतीय पेन्सन वितरण कार्यालय पोखराले आज पोखरामा आयोजना गरेको विशेष समारोहमा पेन्सन वितरण कार्यालयका प्रमुख प्रशान्तसिंह बघेलले यसबारे जानकारी दिएका हुन।
समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र भारतबीचको सम्बन्ध साँचो मित्रता र साझेदारीमा आधारित रहेको बताएका छन। उनले आपसी विश्वास, सम्मान र सहकार्यले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे।
गण्डकी प्रदेशभित्र शिक्षा, स्वास्थ्य, धार्मिक, सांस्कृतिकलगायत क्षेत्रमा भारत सरकार र मातहतका निकायबाट प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा प्राप्त सहयोगप्रति मुख्यमन्त्री पाण्डेले आभार व्यक्त गरे।
भारतीय गोर्खा सेनामा गण्डकी प्रदेशबाटै ठूलो सङ्ख्यामा सहभागिता रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले पोखरास्थित पेन्सन वितरण कार्यालय यस क्षेत्रको महत्वपूर्ण संस्थाका रुपमा अघि बढेको बताए।
आपसी निकटता र पारिवारिक सम्बन्धले दुई देशलाई अझ नजिक तुल्याएको बताउँदै उनले दुई देशबीचको खुला सिमानाका कारण रोजगारी, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सहयोग आदानप्रदान भइरहेको उल्लेख गरे।
दुई देशबीचको सांस्कृतिक एवं ऐतिहासिक सम्बन्ध हजारौँ वर्षदेखिको भएको उल्लेख गर्दै मुख्यमन्त्रीले यी विषय रामायण, महाभारतमासमेत उल्लेख भएको बताए।
पेन्सन वितरण कार्यालय पोखराका प्रमुख बघेलले विश्वमा बहादुरी, बफादारी र कर्तव्यनिष्ठाका लागि प्रशिद्ध गोर्खाली सैनिक रहेका भन्दै सैनिक आश्रित परिवारको सेवारत एवं सेवानिवृत्तिपश्चात पनि आवश्यक सेवा र सुविधालाई सधैँ उच्च प्राथमिकताका साथ कार्यालयले हेर्दै आएको बताए।
भारतीय सेनाको इतिहासमा नेपालबाट सबैभन्दा बढी गोर्खाली सैनिकको सहभागिता गण्डकी प्रदेशको विभिन्न जिल्लाबाट भएको जनाउँदै उनीहरूले देखाएको बहादुरी र इमान्दारीता प्रशंसायोज्ञ रहेको बघेलले बताए।
पेन्सन वितरण कार्यालय पोखराले सन २०२४ मा शिक्षा, स्वास्थ्यलगायत अन्य कल्याणकारी योजनामा सहयोग गरेको बताउँदै उनले त्यसअतिरिक्त ३५ अर्ब रुपैयाँ प्रदेशका भुपूहरूको पेन्सनमात्र पठाउने गरिएको जानकारी दिए।
भारतले नेपालमा रहेका भुपू सैनिकहरूका लागि धेरै सकारात्मक र प्रभावकारी योजना लागू गर्दै आएको उल्लेख उनले गरे।
कार्यालय प्रमुख बघेलका अनुसार भारतले नेपालको शिक्षा, स्वास्थ्यका लागि एम्बुलेन्स, स्कुल बस, खानेपानी, बिजुली, शौर्य ऊर्जालगायत क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ।
कार्यक्रममा नेपाल भारतीय गोर्खा सैनिक बोर्डद्वारा प्रकाशित ‘जर्नल भुपू २०२५’ लोकार्पण गरिएको थियो। त्यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै अमरता प्राप्त गोर्खा सैनिकका सन्ततिलाई सम्मान र विद्यार्थीलाई पुरस्कृत गरिएको थियो।