News Desk
नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले माघ १६ र १७ गते सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन २०२५ आयोजना गर्दैछ। सम्मेलनको पहिलो दिन, माघ १६ गते, दिउँसो २:१५ देखि ३:४५ सम्म कृषि उद्यमशीलता: अवसर र चुनौतीहरू विषयक प्यानल छलफल हुनेछ। उक्त प्यानल छलफलमा सुनिता नुमाफुकी, अध्यक्ष एग्रो नेपाल; प्रा. डा. भीम श्रेष्ठ, प्राध्यापक काठमाडौं विश्वविद्यालय; अम्बिका पौडेल, अध्यक्ष हाइलाइफ एग्रो एण्ड फुड्स इन्डस्ट्रीज; शान्ता बस्कोटा कोइराला, उपाध्यक्ष नेपाल घरेलु तथा साना उद्योग महासंघ (FNCSI); र सिताराम काफ्ले, अध्यक्ष मुक्तिनाथ कृषि कम्पनी सहभागी हुनेछन्।
दुई दिने यस सम्मेलनमा ८० भन्दा बढी स्टार्टअप र साना तथा मझौला उद्यमहरूको प्रदर्शनी हुनेछ, जसमा नवप्रवर्तन र सेवाहरूको अवलोकन गर्दै सहभागीहरूले नयाँ व्यवसायिक सम्भावनाहरू पत्ता लगाउने अपेक्षा गरिएको छ। सम्मेलनमा ६,००० भन्दा बढी युवा उद्यमीहरू, नीति निर्माता, उद्योगपति, लगानीकर्ता, र प्राविधिक विशेषज्ञहरूको सहभागिता रहनेछ। थिमेटिक प्यानल छलफलहरूमा नवप्रवर्तन र उद्यमशीलता, कृषि उद्यमशीलता, सूचना प्रविधि विकास, महिला उद्यमशीलता, र प्रेरणादायी उद्यमशीलता यात्राबारे विशेष छलफल हुने जानकारी गराइएको छ।
यस सम्मेलनले नेपालको स्टार्टअपहरूको प्रवर्द्धन र उद्यमशीलताको वातावरण निर्माणका लागि विशेष भूमिका खेल्ने विश्वास गरिएको छ। कार्यक्रमबाट प्राप्त हुने छलफल र सुझावहरूले व्यवसायिक नीति सुधार र लगानीको वातावरण बनाउन ठोस मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ।