राष्ट्रपति द्वारा सोनाम ल्होसार २०८१ को अवसरमा शुभकामना व्यक्त
News Desk
Jan-30 , 2025 तारिख 07:03 बिहान

काठमाडौं, माघ १७ – राष्ट्रपतिले तामाङ समुदायको महान् पर्व सोनाम ल्होसार २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ।

सन्देशमा राष्ट्रपतिले सोनाम ल्होसारलाई तामाङ समुदायको नयाँ वर्षको रूपमा मनाइने महत्वपूर्ण पर्वको रूपमा उल्लेख गर्दै यस दिन कुल पूजा, प्रकृति पूजा तथा बुद्धका सन्देशको स्मरण गरिनुका साथै आफन्तजन भेला भई मनोरञ्जन गरिने परम्परा रहेको बताउनुभएको छ।

नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक समाजमा यस्ता चाडपर्वहरूले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने उल्लेख गर्दै राष्ट्रपतिले यस पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

त्यस्तै, ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतका अन्य समुदायहरूले पनि आ–आफ्नो शैली र परम्पराअनुसार यो पर्व मनाउने गरिन्छ।

अन्त्यमा, सोनाम ल्होसार पर्वले नेपाली समाजलाई एकताबद्ध गर्दै आर्थिक तथा सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने शुभकामना राष्ट्रपतिले दिनुभएको छ।

धेरै पढिएको