News Desk
ललितपुर– नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट र स्थानीय स्काउट परिषद्को बैठक शुक्रबार ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा सम्पन्न भएको छ।
बैठकको अध्यक्षता परिषद्का अध्यक्ष एवं ललितपुर महानगरपालिका उप-प्रमुख मञ्जली शाक्य बज्राचार्यले गरेकी थिइन्। प्रमुख अतिथिका रूपमा ललितपुर महानगर स्काउटका संरक्षक एवं नगर प्रमुख चिरिबाबु महर्जन तथा विशिष्ट अतिथिका रूपमा नेपाल स्काउटका अन्तर्राष्ट्रिय आयुक्त देवराज घिमिरेको उपस्थिति रहेको थियो।
बैठकमा स्थानीय स्काउट परिषद्का पदाधिकारी, सदस्यहरू, शिक्षा निर्देशक, स्काउट पदाधिकारी तथा सदस्यहरूले आ-आफ्ना धारणा प्रस्तुत गरेका थिए। साथै, बैठकमा पदेन सदस्यका रूपमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरीलगायत स्थानीय सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति थियो।
कार्यक्रमको औपचारिक सुरुवात राष्ट्रिय गान तथा स्काउट गीतबाट गरिएको थियो। सोही अवसरमा ललितपुर महानगर स्काउटका प्रमुख आयुक्त पवन कोइरालाले स्थानीय स्काउट परिषद्को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न विकास योजनाहरू, सदस्यता वृद्धिका उपायहरू तथा शैक्षिक पहुँच विस्तारका विषयमा छलफल गरेका थिए।
प्रमुख अतिथि चिरिबाबु महर्जनले स्काउट अभियानको प्रभावकारिता र भावी योजनाबारे चर्चा गर्दै ललितपुर महानगर स्काउट कार्यालय तथा ललितपुर महानगरपालिका बीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा ललितपुर महानगरका शिक्षा निर्देशक तथा महानगर स्काउटका सदस्य सचिव देवीप्रसाद उपाध्याय, निवर्तमान शिक्षा प्रमुख तथा सदस्य सचिव महेन्द्र बहादुर क्षेत्री तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन श्याम कुमार महर्जनले गरेका थिए।
बैठकका अन्त्यमा परिषद्का अध्यक्ष मञ्जली शाक्य बज्राचार्यले बैठकमा प्रस्तुत भएका प्रस्तावहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन्। बैठक औपचारिक रूपमा समापन भएपछि सहभागीहरूले सामूहिक तस्वीर खिचेर कार्यक्रम सम्पन्न गरेका थिए।



