ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएकोले यात्रुहरू समयमा आफ्नो गन्तव्यमा पुग्न सकिरहेका छैनन्। २०७८ फागुन १२ देखि २०८० फागुन ११ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सडक विभाग र आशिष–समानान्तर–रेलिगेर जेभीबीच सम्झौता भएको थियो। तर, निर्धारित समयमै काम सक्न नसकिएपछि पुनः २०८१ पुस ८ सम्म म्याद थप गरियो। यो म्यादसमेत सकिएपछि हालसम्म निर्माण कार्य अन्योलमै छ।
सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता अर्जुनप्रसाद अर्यालका अनुसार ठेकेदार कम्पनी सम्पर्कमा भए पनि काम गरिरहेका छैनन्। ‘ठेकेदारहरूसँग निरन्तर सम्पर्क भइरहेको छ, तर उनीहरूले केही समयदेखि काम पूर्ण रूपमा रोकेका छन्,’ उनले बताए। निर्माणस्थलमा सीमित कर्मचारीबाहेक कुनै ठोस काम भइरहेको छैन।
ठेकेदार कम्पनीले भने निर्माणको वातावरण नभएको कारण देखाउँदै काम अवरुद्ध रहेको बताउँदै आएको छ।
यसअघि, बर्खाका कारण भन्दै ठेकेदार कम्पनीले चार महिना काम रोकेको थियो। त्यसपछि पनि तीव्र गतिमा निर्माण हुन सकेको छैन, हाल केही फाट्टफुट्ट मात्र काम भइरहेको देखिन्छ।
ग्वार्को फ्लाइओभरको ढिलाइप्रति स्थानीयवासी र सरोकारवालाहरू आक्रोशित बनेका छन्। स्थानीयहरूले धेरैअघि नै निर्माण कार्य दशैँअघि नै सम्पन्न गर्न माग गरेका थिए।
स्थानीय पनि निर्माण ढिलाइका कारण हजारौँ सवारीसाधन घण्टौँ जाममा फस्न बाध्य भएको उल्लेख गरे। ‘राज्यले समयमै निर्माण पूरा गरी नागरिकलाई सहजता दिनुपर्छ, यस्तो लापरबाही सह्य हुँदैन,’l।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले निर्माण कार्य छिटो सक्न माग गरेका छन्। महानगरको १०६औँ स्थापना दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उनले ग्वार्कोमा ट्राफिक जाम झन् बिग्रिएको भन्दै शीघ्र निर्माण सम्पन्न गर्न जोड दिए।
१७ करोड ६ लाख ८८ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको फ्लाइओभरको कुल लम्बाइ ४९० मिटर हुनेछ। ग्वार्को चोकबाट बी एण्ड बी अस्पतालतर्फ १३५ मिटर र बालकुमारीतर्फ २८० मिटर लम्बाइको र्याम्प रहनेछ।
यो नेपालकै पहिलो फ्लाइओभरको रूपमा निर्माण सुरु गरिएको भए पनि अत्यधिक ढिलाइका कारण आम नागरिकले सास्ती भोग्नुपरेको छ। सरकारले प्रभावकारी रूपमा अनुगमन गरी काम छिटो सकाउने पहल गर्नुपर्ने स्थानीयवासीको माग छ।