पूर्वगृहसचिव तथा भानु साहित्य उद्यानका अध्यक्ष विजयराज भट्टराईको निधन
News Desk
Feb-04 तारिख 10:16 बेलुका

काठमाडौं – नेपाल सरकारका पूर्वगृहसचिव तथा आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घाको विकासका लागि स्थापित भानु साहित्य उद्यानका अध्यक्ष विजयराज भट्टराईको निधन भएको छ। उनको निधन यही माघ २१ गते सोमबार भएको हो।  

भानु साहित्य उद्यानका कोषाध्यक्ष एवं कवि मुकुन्द पौडेलले सामाजिक सञ्जालमार्फत भट्टराईको निधनको खबर सार्वजनिक गरेका छन्। उनले भट्टराईको नेतृत्वमा साहित्य उद्यानमा काम गर्ने अवसर पाउनु आफ्नो लागि सौभाग्यको विषय भएको उल्लेख गरेका छन्।  

वि.सं. २००५ मा तनहुँको भानु नगरपालिकास्थित सिंपानीमा जन्मिएका भट्टराई नेपाल सरकारका कुशल प्रशासकका रूपमा परिचित थिए। प्रशासनिक सेवामा रहँदा उनको इमान्दारिता र कार्यकुशलता सराहनीय मानिन्थ्यो। साथै, उनी समाजसेवा तथा साहित्यप्रति समर्पित व्यक्तित्व थिए।  

भट्टराईको असमायिक निधनले भानु साहित्य उद्यान परिवारलाई गहिरो क्षति पुगेको कवि पौडेलले जनाएका छन्। उनले लेखेका छन्, "उहाँको नेतृत्वमा संस्थालाई नयाँ उचाइमा पुर्‍याउने हाम्रो चाहनामा ठूलो धक्का पुगेको छ। उहाँ एक कुशल प्रशासक मात्र नभई समाजसेवी तथा इमान्दार व्यक्तित्व हुनुहुन्थ्यो।"

स्व. भट्टराईका श्रीमती, तीन छोरा र एक छोरी छन्।