News Desk
काठमाडौं – ललितपुरको ग्वार्को क्षेत्रमा निर्माणाधीन फ्लाइओभरको काम पछिल्लो समय पूरै ठप्प भएको छ। निर्माणको अन्तिम चरणमा पुगेको यो परियोजना एक महिनाभन्दा बढी समयदेखि ठेकेदार कम्पनीले निरन्तर काम रोकेको छ। यसले परियोजनाको सक्ने मिति अझै अनिश्चित बनाएको छ।
काम रोकिएपछि सरकार र ठेकेदार दुवै चौतर्फी आलोचनाको केन्द्र बनेका छन्। सवारीचालक र यात्रुहरूलाई ट्राफिक व्यवस्थापनमा थप समस्याको सामना गर्नुपरेको छ। लामो समयसम्म निर्माण अधुरो रहँदा यात्रुहरू आफ्नो गन्तव्यमा समयमै पुग्न सकिरहेका छैनन्।
बाहिरी सञ्चारमाध्यमहरूमा ठेकेदार सम्पर्कविहीन रहेको चर्चा भइरहे पनि सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता अर्जुनप्रसाद अर्यालले ठेकेदारसँग सम्पर्क कायम रहेको तर उनीहरूले काम नगरेको जानकारी दिए। ‘हामीले पटक–पटक काम अघि बढाउन भनेका छौं, तर ठेकेदार कम्पनीले कुनै चासो देखाएको छैन,’ उनले भने।
२०७८ फागुन १२ गते आशिष–समानान्तर–रेलिगेर जेभी र सडक विभागबीच दुई वर्षभित्र ४ लेनको फ्लाइओभर निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। तर २०८० फागुन ११ गतेको तोकिएको म्यादभित्र काम नसकिएपछि २०८१ पुस ८ गतेसम्म म्याद थपियो। नयाँ म्यादसमेत सकिन लाग्दा अब ठेकेदारले निर्माण कार्य अघि नबढाएपछि परियोजना झनै अन्योलमा परेको छ।
सडक विभागले निर्माण अवरोधको दोष ठेकेदारलाई लगाइरहेका बेला ठेकेदार कम्पनीले भने विभागकै कारण काम रोकिएको दाबी गरेको छ। आशिष–समानान्तर–रेलिगेर जेभीका सहायक इन्जिनियर कृष्ण गोपाल श्रेष्ठका अनुसार विभाग अन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशकले बारम्बार अनावश्यक परीक्षणका कारण काम गर्न गाह्रो बनाएको आरोप छ।
‘अघिल्लो निर्देशकले परीक्षण गरेर पास गरिसकेको कामलाई अहिलेका निर्देशकले पुनः परीक्षण गर्दै निर्माण कार्य अवरुद्ध गरिरहेका छन्,’ श्रेष्ठले बताए। उनका अनुसार, ‘गुणस्तरीय काम गरिरहेकै छौं, तर हरेक चरणमा अवरोध खडा गरेर अनावश्यक दु:ख दिइँदैछ।’
ठेकेदार कम्पनीका अनुसार, निर्माणमा ढिलाइ भएपछि विभागले जरिवाना लगाएको छ, जुन उनीहरूले तिरिरहेका छन्। ‘हामी घाटा सहेरै पनि काम गरिरहेका थियौं, तर सहज वातावरण नै बनाइएन। त्यसैले हामीले काम रोक्न बाध्य भयौं,’ श्रेष्ठले भने।
सडक विभागले भने ठेकेदारको दाबी अस्वीकार गर्दै काम रोक्नका लागि कुनै अवरोध खडा नगरेको बताएको छ। यो परियोजना अब कहिले पूरा हुनेछ भन्ने अझै निश्चित छैन।