News Desk
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नति तीव्र गतिमा अघि बढाउन शहरी विकास मन्त्रालयलाई निर्देशन दिएका छन।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रालयको गतिविधिबारे आज जानकारी लिँदै प्रधानमन्त्री ओलीले कीर्तिपुर क्रिकेट रङ्गशालालाई अन्तरराष्ट्रियस्तरको बनाउने काम छिटो अघि बढाउन निर्देशन दिएका हुन। उनले पदबहालीका क्रममा ३ सय दिनभित्र उक्त रङ्गशालाको स्तरोन्नति गर्ने बताएका थिए।
रङ्गशालामा प्यारापिट र फ्लडलाइट निर्माणका लागि मन्त्रालयले आह्वान गरेको बोलपत्रबमोजिम मूल्याङ्कनको चरण सकिन लागेकाले चाँडै ठेक्का सम्झौता हुने प्रधानमन्त्रीलाई अवगत गराइएको थियो।
प्रधानमन्त्री ओलीले बैठकमा हरेक जेठ १५ मा संसदमा बजेट आउने हुँदा नयाँ आर्थिक वर्ष शुरू भएदेखि नै तदारूकताका साथ बजेट र कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताए।
सो मन्त्रालयको चालू आवको चालू प्रगति १९ दशमलव ३५ र पुँजीगत प्रगति १२ दशमलव ०४ प्रतिशतमात्र भएको पाइए पनि समग्र कार्य प्रगति सन्तोषजनक रहेको प्रधानमन्त्री ओली भनाइ थियो।
उनले पूर्वाधार निर्माणमा ढिलाइ भएमा मुलुकको उत्पादन र उत्पादकत्व वृद्धिमा असर पर्ने भएकाले ढिलाइ नगरी काम गर्न निर्देशन दिए।
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र सम्बन्धित उच्चाधिकारीसमेतको सहभागितामा भएको छलफलमा मन्त्रालयमातहत रहेका सङ्घीय संसद भवन, धरहरा, सङ्घीय मन्त्रीहरूको निवास, दमक व्यापारिक कम्प्लेक्स, नेपाली सेनाको चण्डी दल, थापाथलीस्थित नेपाल राष्ट्रबैंकको भवन निर्माण, हस्तान्तरण, सञ्चालन र मन्त्रालयको भावि योजनाबारे अवगत गराइएको थियो।