News Desk
नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतकी अधिराजकुमारी डचेस सोफियाले आज भक्तपुर अस्पतालको निरीक्षण गरेकी छन्। उनले विशेष रूपमा अस्पतालको प्रसूति सेवा (गाइनो वार्ड) को अध्ययन गर्दै त्यहाँका सेवा सुविधा तथा प्रविधिहरूको अवलोकन गरिन्।
अवलोकनका क्रममा अधिराजकुमारी सोफियाले अस्पतालले उपलब्ध गराउँदै आएको मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाका बारेमा गहिरो चासो देखाइन्। उनले प्रसूति कक्षमा उपचाररत सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै अस्पतालका स्वास्थ्यकर्मीहरूसँग सेवा तथा उपचार विधिहरूको विषयमा विस्तृत छलफल गरिन्।
नवजात शिशुलाई बोकेर सेवा अनुभव लिँदै उनले भक्तपुर अस्पतालको मातृ तथा शिशु स्वास्थ्य सेवाको प्रशंसा गरिन्। साथै, उनले यौन दुर्व्यवहार तथा हिंसाबाट प्रभावित महिलाहरूका लागि प्रदान गरिने पुनःस्थापना सेवा, मनोपरामर्श, पारिवारिक पुनर्मिलन तथा सामाजिक पुनःस्थापनासम्बन्धी व्यवस्थाबारे पनि जानकारी लिइन्।
स्वास्थ्य क्षेत्रमा महिला स्वयंसेविकाले पुर्याउँदै आएको योगदानको उच्च मूल्यांकन गर्दै उनले मातृ तथा शिशु स्वास्थ्य सुधारका लागि अस्पतालको सेवा प्रभावकारी रहेको बताइन्। प्रसूति सेवामा पछिल्लो समय भएका प्रविधिगत सुधार तथा आधुनिक उपकरणहरूको प्रयोगबारे चासो देखाउँदै उनले बेलायत सरकारको सहयोगमा निर्माण भएको नयाँ संरचना तथा स्तरोन्नति गरिएको ‘रेट्रोफिटिङ्ग’ भवनको पनि अवलोकन गरिन्।
अवलोकनपछि आयोजित छलफलमा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशभरका १३ वटा अस्पतालका प्रसूति कक्षलाई आवश्यक जनशक्ति, प्रविधि तथा भौतिक संरचनासहित सशक्त बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले भक्तपुर अस्पताललाई मुलुककै नमुना अस्पतालका रूपमा विकास गर्ने योजनाबद्ध प्रयास भइरहेको उल्लेख गरिन्।
अस्पताल विकास समितिका अध्यक्ष शशीजङ्ग थापाले भक्तपुर अस्पतालले भक्तपुर तथा आसपासका क्षेत्र मात्र नभई पूर्वी नेपालका बिरामीहरूलाई समेत सेवा दिँदै आएको बताए। साथै, एमआरआई, सिटी स्क्यान, डायलसिस मेसिन जस्ता अत्यावश्यक उपकरणको थप सुविधा उपलब्ध गराउन सके सेवाग्राहीहरूले ठूलो राहत पाउने बताए।
अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्रप्रसाद भट्टले अधिराजकुमारी सोफियालाई प्रजनन स्वास्थ्य सेवाका विविध पक्षबारे जानकारी गराउँदै, लैङ्गिक हिंसाबाट पीडित महिलाहरूका लागि प्रदान गरिने उपचार, परामर्श तथा पुनःस्थापना सेवाका बारेमा जानकारी दिए।
अवलोकनका क्रममा अधिराजकुमारी सोफियाले अस्पतालमा उपचाररत बिरामीहरूसँग प्रत्यक्ष संवाद गरिन्। उनीसँगै बेलायती राजदूतावासका स्वास्थ्य सल्लाहकार डिएगो मोरोसो, समन्वयकर्ता दीपक कार्की तथा अन्य अधिकारीहरूको टोलीले पनि अस्पताल भ्रमण गरेको अस्पताल स्रोतले जनाएको छ।
नेपाल भ्रमणका क्रममा मंगलबार नेपाल आइपुगेकी अधिराजकुमारी सोफिया काठमाडौँस्थित बेलायती राजदूतावास, गोदावरीको राष्ट्रिय वनस्पति उद्यान, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD), पोखरा लगायत स्थानको भ्रमण गर्ने कार्यक्रम रहेको छ।