News Desk
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अध्यादेशबारे अन्तिम निर्णय दलको आज बस्ने बैठकले गर्ने बताएका छन्।
"केही निष्कर्ष निकालेर अध्यक्षज्यूलाई बुझाउँछौँ, दलको बैठकले यसबारे निर्णय गर्नेछ," यादवले स्पष्ट पारे।
गएको सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यक्ष यादवलाई फोन गरी अध्यादेशको पक्षमा सहयोग गर्न आग्रह गरेका थिए। सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उनलाई फोन गरी सहकार्यको प्रस्ताव राखेको जसपाका नेताहरू बताउँछन्।
यस परिस्थितिमा जसपाको समर्थन निर्णायक हुने देखिएकाले कांग्रेस र एमाले दुवैले आफ्ना सर्तहरू पूरा गर्न सक्ने अध्यक्ष यादवको बुझाइ छ।
"शेरबहादुरजीले समर्थनका लागि आग्रह गर्नुभयो। त्यसलगत्तै प्रधानमन्त्री ओलीजीको पनि फोन आयो," जसपा सांसद प्रकाश अधिकारीले भने, "अध्यक्षज्यू छलफलमै हुनुहुन्छ भन्ने मात्र जवाफ दिनुभयो। विस्तृत कुरा भने भएन।"
जसपाका एक पदाधिकारीका अनुसार दुवै पक्षबीच लेनदेनको सम्भावना देखिन्छ।
"संसद् सुरु हुनुअघि नै कुनै समझदारी बन्न सक्छ। राजनीति अनिश्चित छ, अहिले नै निश्चित भन्न सकिन्न," ती पदाधिकारीले भने, "हाम्रो समर्थनका लागि यो खोजी भइरहेको कुरा हामी बुझेकै छौँ।"
अध्यादेश स्वीकृत गराउन मधेस प्रदेश सरकारको मुख्यमन्त्री पददेखि संघीय सरकारमा प्रतिनिधित्वको प्रस्ताव आएको जसपाका नेताहरू बताउँछन्।
सरकारले बिहीबार नै अध्यादेश पारित गराउने तयारी गरिरहेको छ। नेपाली कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन तथा अध्यादेशको पक्षमा मतदान गर्न निर्देशन (ह्विप) जारी गरिसकेका छन्।
एमालेका राष्ट्रिय सभा प्रमुख सचेतक भगवती न्यौपानेले भनिन्, "हिजै हाम्रो दल र कांग्रेसले सांसदहरूलाई अनिवार्य उपस्थित हुन र अध्यादेशको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छौँ।"