ग्राण्डी अस्पतालद्धारा झण्डै तीन हजार विरामीलाई घरमै गएर उपचार 
News Desk
Feb-07 , 2025 तारिख 11:57 बिहान

काठमाडौँ, । काठमाडौँको टोखामा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले तीन वर्षमा झण्डै तीन हजार विरामीलाई घरमै गएर सेवा प्रदान गरेको छ । 

ग्राण्डीले स्थापनाको नवौँ वर्षको अवसरमा सन् २०२२ जनवरीमा विरामीको घरमै गएर सेवा प्रदान गर्ने उदेश्यका साथ ‘ग्राण्डी याट् होम’ सेवा सञ्चालन गरेको थियो  । ग्राण्डीले हालसम्म दुई हजार ७५५ विरामीलाई घरमै गएर सेवा प्रदान गरेको अस्पतालका एजिएम अर्चना प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार अशक्त, वृद्ध र दिर्घरोगका विरामीलाई लक्षित गरी उक्त सेवा सञ्चालन गरिएको हो ।  

ग्राण्डीले सन् २०२२ मा ७५५, सन् २०२३ मा ९०० र सन् २०२४ मा ११०० विरामीलाई घरमै गएर स्वास्थ्य सेवा प्रदान गरेको छ । ग्राण्डीले विरामीको घरमै पुगेर रगत तथा दिशापिसाव जाँच गर्ने, डाक्टर परामर्श सेवा प्रदान गर्ने, औषधी सेवा, विरामीको टाँका काट्ने, पिसिआर परिक्षण, घाउको डेसिङ गर्ने, फिजियोथेरापी गर्ने लगायतका काम ग्राण्डी याट् होममार्फत प्रदान गर्दै आएको छ । 

विस २०६९ मा काठमाडौँको टोखामा स्थापना भएको अस्पतालले हाल २०० भन्दा बढी शैया मार्फत अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । उक्त अस्पतालले हाल विभिन्न ३४ विभाग मार्फत विरामीलाई स्वास्थ्यसेवा प्रदान गरेको छ ।