नेपाल किसान महासंघको नेतृत्वप्रति गम्भीर आपत्ति जनाउदै पार्टि सभापतिको ध्यानाकर्षण
News Desk
Feb-07 , 2025 तारिख 09:23 बेलुका

ललितपुर – नेपाल किसान महासंघका सदस्यहरूले हालको तदर्थ समितिका सभापतिले विधि र विधान उल्लंघन गर्दै एकलौटी रूपमा महासंघ सञ्चालन गरेको आरोप लगाएका छन।

महासंघले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण गराउँदै हालको नेतृत्वले अव्यवस्थित र अलोकतान्त्रिक व्यवहार देखाएको गम्भीर आपत्ति जनाएको छ। महासंघका इमानदार सदस्यहरूका अनुसार, विगतमा नेपाल किसान महासंघले हरेक राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको छ, तर अहिलेको नेतृत्वले संगठनलाई बदनाम गर्ने दिशामा लगिरहेको छ।

नेपाल किसान महासंघको लामो इतिहासको चर्चा गर्दै जारी गरिएको विज्ञप्तिमा भनिएको छ, '२००८ सालमा नेपाल शुद्धिकरण किसान संघद्वारा प्रस्तावित नेपाल किसान संघको विधान २००८ बाट सुरु भई, संशोधित विधान २०७० हुँदै हाल प्रस्तावित नेपाल किसान महासंघ २०८१ को संघारमा पुगेको छ। यो संगठन नेपाली कांग्रेसको 'जसको जोत, उसैको पोतं भन्ने वैज्ञानिक भूमि सुधार नीति अनुरूप सुकुम्बासी किसानको हकहितका लागि प्रतिबद्ध छ।'

विधि उल्लंघनका आरोपहरू

विज्ञप्तिमा महासंघको सभापतिबाट भएका केही प्रमुख विधानविपरीत क्रियाकलापलाई बुँदागत रूपमा उल्लेख गरिएको छः

अवैधानिक रूपमा केन्द्रीय समितिका सदस्यहरू मनोनयन गरिएको।

विधान विपरीत एकलौटी ढंगले प्रदेश अध्यक्षहरूको मनोनयन गरिएको।

निर्वाचित पूर्व किसान संघका जिल्ला सभापतिहरूलाई बिना कारण, बिना जानकारी स्वेच्छाचारी रूपमा हटाइएको।

महासंघका सदस्यहरूले नेपाली कांग्रेसको नेतृत्वलाई अविलम्ब हस्तक्षेप गरी महासंघलाई विधि अनुरूप सञ्चालन गराउन आग्रह गरेका छन। उनीहरूले किसानहरूको हितमा संगठनलाई एकताबद्ध बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन।

नेपाल किसान महासंघले नेपाली कांग्रेसको ऐतिहासिक प्रतिबद्धता अनुरूप कृषिलाई आधुनिकीकरण र व्यावसायीकरण गर्दै किसानहरूको समुन्नति नै नेपालको आर्थिक विकासको आधार बन्नुपर्ने विचार व्यक्त गर्दै आफ्ना मागहरू सम्बोधन गर्न पार्टी नेतृत्वलाई आग्रह गरेको छ।