खानेपानी मन्त्रालयमा आगलागी, महत्वपूर्ण कागजात सुरक्षित रहेको मन्त्री यादवको दाबी
News Desk
Feb-08 , 2025 तारिख 09:13 बेलुका

काठमाडौं – खानेपानी तथा सरसफाइ मन्त्रालयमा शनिबार बिहान भएको आगलागीबाट कुनै महत्वपूर्ण कागजात नष्ट नभएको खानेपानीमन्त्री प्रदीप यादवले बताएका छन्।  

आज बिहान करिब ८:४० बजे लागेको आगलागीले मन्त्री यादवको कार्यकक्षमा पूर्ण रूपमा क्षति पुर्‍याएको छ। आगलागीपछि मन्त्रालय पुगेका मन्त्री यादव, सचिव ई. प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव रमाकान्त दुवाडी सहितको टोलीले जलेको कार्यकक्षको निरीक्षण गरेको थियो।  

महत्वपूर्ण कागजात सुरक्षित

सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा मन्त्री यादवले आफूले महत्वपूर्ण कागजातहरू टेबलमा नराख्ने बताएका छन्। "मैले आवश्यक कागजातहरूमा सही गरेर सचिवज्यूलाई पठाउने गर्छु। टेबलमा सामान्य पढ्नका लागि मात्र केही कागजात राखिन्छ। त्यसैले कुनै महत्वपूर्ण कागजात जलेको छैन,"उनले भने।  

आगलागीको कारण र अनुमानित क्षति

मन्त्री यादवका अनुसार आगलागी विद्युत सर्टका कारण भएको हुनसक्छ। "हिजो शुक्रबार नै पोलिएको गन्ध आएको थियो। मैले कार्यालय सहयोगीलाई जानकारी गराएर प्लगहरू निकाल्न लगाएको थिएँ। तर, आज आगलागी भयो," उनले बताए।  

मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार आगलागीबाट करिब रु. ४० देखि ५० लाखसम्मकोक्षति भएको अनुमान गरिएको छ। क्षतिको पूर्ण विवरण संकलन गर्न छानबिन प्रक्रिया अघि बढाइएको छ।  

मन्त्री यादवको कार्यकक्षमा लागेको आगोले निम्न सामग्रीमा क्षति पुर्‍याएको छ:  

- दुईवटा टेलिभिजन

- एउटा कम्प्युटर 

- पानी तताउने मेसिन

- टेबल, सोफा, कुर्सीहरू, कार्पेट

- सीसीटीभी क्यामेराको मनिटर

मन्त्रालयका अधिकारीहरू आगलागीको विस्तृत कारण पत्ता लगाउन र सुरक्षात्मक उपायहरू अपनाउन थप अनुसन्धान गरिरहेका छन्।