सार्क राष्ट्रहरूमा भ्रष्टाचारको स्थिति: भुटान सबैभन्दा कम, अफगानिस्तान अत्यधिक प्रभावित
News Desk
Feb-11 , 2025 तारिख 10:12 बेलुका

ट्रान्सपरेन्सी इन्टरनेशनलले हालै सार्वजनिक गरेको २०२४ को भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरूमा भ्रष्टाचारको फरक स्थिति देखिएको छ। भुटान ६८ अंकसहित २६औं स्थानमा रहँदै सार्क राष्ट्रहरूमा सबैभन्दा कम भ्रष्टाचार भएको देशको रूपमा दरिएको छ। माल्दिभ्स र भारत समान ३९ अंकसहित ९३औं स्थानमा छन्। नेपाल भने ३५ अंकसहित १०८औं स्थानमा रहँदै अघिल्लो वर्षको तुलनामा एक अंक सुधार गर्न सफल भएको छ, तर अझै पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको सूचीमा नै रहेको छ।

श्रीलंका ३४ अंकसहित ११५औं स्थानमा रहँदा, पाकिस्तान २९ अंकसहित १३३औं स्थानमा परेको छ। बङ्गलादेश २४ अंकसहित १४९औं स्थानमा छ भने अफगानिस्तान २० अंकसहित १६२औं स्थानमा रहेको छ, जसले सार्क राष्ट्रहरूमा सबैभन्दा बढी भ्रष्टाचार भएको संकेत गर्छ।

सीपीआईले १८० देशहरूलाई ० (अत्यधिक भ्रष्ट) देखि १०० (अत्यधिक स्वच्छ) सम्मको स्कोरमा वर्गीकरण गर्छ, जहाँ ५० भन्दा कम अंक प्राप्त गर्ने देशहरूलाई भ्रष्टाचार व्याप्त मुलुक मानिन्छ। यो सूचकांकले सार्वजनिक क्षेत्रको भ्रष्टाचारको अवधारणालाई मापन गर्दछ। नेपालका लागि अघिल्लो वर्षको तुलनामा सुधार देखिए पनि, सुशासन र पारदर्शिता अभिवृद्धिका लागि अझै धेरै सुधार आवश्यक रहेको प्रतिवेदनले औंल्याएको छ।

विश्वव्यापी रूपमा, डेनमार्क ९० अंकसहित सबैभन्दा कम भ्रष्टाचार भएको देशको रूपमा पहिलो स्थानमा छ, जबकि सोमालिया ११ अंकसहित सबैभन्दा बढी भ्रष्टाचार भएको देशको रूपमा अन्तिम स्थानमा रहेको छ। सीपीआई प्रतिवेदनले सरकारहरूलाई भ्रष्टाचार नियन्त्रणमा थप प्रयास गर्न र न्याय प्रणालीलाई सुदृढ बनाउन सुझाव दिएको छ, जसले भ्रष्टाचार विरुद्ध प्रभावकारी कदम चाल्न मद्दत पुर्‍याउनेछ।