News Desk
काठमाडौँ, माघ ३० – सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल श्रोताहरूको आवश्यकता अनुरूप गुणस्तरीय सामग्री निर्माण र प्रसारण गर्न प्रतिबद्ध रहेकोसार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टले बताएका छन।
नेपाल विज्ञापन संघ (AAN) का पदाधिकारी तथा विज्ञापन एजेन्सीहरूसँग भएको छलफल कार्यक्रममा उनले विज्ञापनलाई सन्तुलित रूपमा समेट्दै निषेधित बाहेक अन्य व्यवसायिक विज्ञापनलाई स्थान दिने नीति अवलम्बन गरिने जानकारी गराए। यसले रेडियो नेपाललाई आत्मनिर्भर बनाउन सहयोग गर्ने र गुणस्तरीय सामग्री प्रवर्द्धनमा टेवा पुग्ने उनको भनाइ छ।
बजार प्रतिस्पर्धामा रेडियो नेपालको स्थान सशक्त बनाउनका लागि बजारबाट फिडब्याक लिने, नेपाली पब्लिकको सहभागिता बढाउने, तथा पश्चिमी शैलीभन्दा नेपाली मौलिक कार्यक्रमलाई प्राथमिकता दिने विषयमा छलफल भएको बिष्टले बताए।
उनका अनुसार युवापुस्तालाई लक्षित सामग्री उत्पादन गर्नेतर्फ पनि ध्यान दीनेछ, जसले समाजमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। उनले विज्ञापन एजेन्सीहरूसँग सहकार्य गर्दै उत्तरदायी प्रसारण नीति अपनाइने प्रतिबद्धता व्यक्त गरे।