दरबारमार्ग क्षेत्रमा सडकपेटीमा ग्रेनाइट बिछ्याईयो
News Desk
Feb-14 , 2025 तारिख 12:43 बेलुका

संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा सडकपेटीमा ग्रेनाइट बिछ्याएको छ । पैदल यात्रुलाई सहज होस भन्दै महानगरपालिकाले दरबारमार्ग आसपासको सडकपेटी बढाएर ग्रेनाइट बिछ्याएको हो ।

सडकपेटी सुधारको यो कामलाई कतिले प्रश‌ंसा गरेका छन भने कतिले सांस्कृतिक शहर काठमाडौंको परम्परागत सीप शैलीको बेवास्ता गरेको प्रतिक्रिया दिएका छन ।

दरबारमार्ग अर्थात काठमाडौंको अति व्यस्त र पर्यटकहरूको बढी चहलपहल हुने क्षेत्र । यहाँ किनमेल, मनोरञ्जन गर्न रुचाउनेदेखि बैंक र वित्तीय क्षेत्रको काम हुनेहरू पुग्ने गर्छन । त्यसो त गणतान्त्रिक मुलुकमा राजदरबारभित्र रहेको नारायणहिटी दरबार संग्रहालयका कारण पनि यहाँ देशैभरका नागरिकको चहलपहल बढी हुन्छ ।

अहिले तपाईं दरबारमार्ग पुग्नुभयो भने यहाँ धमाधम ग्रेनाइट बिछ्याउने काम भइरहेको देख्नुहुन्छ । ग्रेनाइट बिछ्याउनकै लागि यहाँका सडकपेटीहरू ढलान गरिएका छन । पैदलयात्रुले दरबारमार्ग अझ सुन्दर देखिने अपेक्षा गरेका छन ।

काठमाडौंका अन्य सडकपेटीमा रंगीचंगी ब्लक बिछ्याइएको छ । शहरको इतिहास र कला झल्काउने गरी परम्परागत इँटा बिछ्याएका स्थल पनि छन । तर दरबारमार्गमा चाहिँ किन ग्रेनाइट ? कतिले पैदलयात्री हिँड्ने क्षेत्रमा ग्रेनाइट बिछ्याउनु सुरक्षित नहुने बताएका छन ।

काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रको १८ सय ७७ स्क्वायर मिटर सडक पेटीमा बैशाख १ गते सम्ममा ग्रेनाइट बिछ्याइसक्ने लक्ष्य लिएको छ । महानगरपालिकाका अनुसार यसका लागि ५ करोड १४ लाख ७८ हजार रुपैयाँमा ठेक्का दीएको छ । यो वास गरिएको ग्रेनाइट भएकाले राम्रो पनि देखिने र मानिसहरू नचिप्लने महानगरको दाबी छ ।