News Desk
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी मीडियाले सरकारको स्तुति गाउन नहुने बताएका छन।
सरकारी मीडियाले जनताको हक, अभिव्यक्ति स्वतन्त्रता, सत्यतथ्य विषयमा सही सूचना दिँदै जनताका आवाज बोल्नुपर्नेमा मन्त्री गुरुङले जोड दिए।
उनले दुई संस्था रेडियो नेपाल र नेपाल टेलिभिजन गाभिएर बनेको सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले नागरिकको आवाज बोल्नुपर्ने धारणा राखे।
नेपाल टेलिभिजन कर्मचारी युनियनद्वारा धुलिखेलमा आयोजित ‘सार्वजनिक सेवा प्रसारण नेपालमा कर्मचारीको भूमिका र वृत्ति विकासका अवसर एवं पिएसबीको आगामी कार्यदिशा’ विषयक दुईदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन।
मन्त्री गुरुङले भने‚ ‘पिएसबीलाई सरकारको स्तुति गाउने भजनमण्डली बनाउने हैन, जनताको हक, अभिव्यक्ति स्वतन्त्रता, सत्य–तथ्य विषयमा सही सूचना दिँदै जनताका आवाज बोल्नुपर्छ।’
मन्त्री गुरुङले पिएसबीले परम्परागत शैलीबाट क्रान्तिकारी छलाङ मार्नुपर्ने बताए। सञ्चारमन्त्री गुरुङले केही देशमा असल शासकको असल निर्णयलाई कर्मचारी युनियनले समर्थन गरेको उदाहरण पेश गर्दै कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने दोहोर्याए। ‘जुनसुकै संस्थामा पनि असल व्यक्ति हुनुपर्छ, असल शासनलाई असल व्यक्तिले न्याय गर्न सक्छन। त्यसैगरी शासक र सरकार पनि पारदर्शी हुनुपर्छ’, मन्त्री गुरुङले भने।