News Desk
फागुन - ३, शनिबार हाडीगाउँ स्थित सेन्ट जर्ज स्कुलमा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षता एवं अप्टिमिष्ट इन्टरनेशनल नेपाल च्याप्टरका कोषाध्यक्ष एवं समाजसेवी विजय सत्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
कार्यक्रममा विशेष अतिथिको रुपमा एन. डि.एका केन्द्रीय उपाध्यक्ष एवं समाजसेवी दिप प्रसाद धमला, नेत ग्रुपका डाइरेक्टर दिपक तिमल्सिना, दृश्य सहकारी संस्थाका सदस्य दिपक सन्जेल, अप्टिमिस्ट क्लब अफ डेरी इन्टरप्रियनरका सदस्य एवं श्री नवप्रभात डेरीका कार्यकारी निर्देशक सुरेश तिमिल्सिना, ताइकोन्दो संघकी सदस्य एवं प्रशिक्षक सबिना भट्टराई, विद्यालयका निर्देशक मनोज कुमार दाहाल, रजत श्रेष्ठ एवं विद्यालयका पूर्व विद्यार्थी, शुभचिन्तक,पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा कक्षा ८ कि छात्रा दिब्या बोहराले स्वागत गरेकी थिइन् भने स्वागत गान र नृत्यबाट पनि अतिथीहरुको स्वागत गरिएको थियो । विद्यार्थीहरुले विभिन्न लोक भाषामा आधारित लोक नृत्य, कथा, कविता, नाटक, ताइकोन्दो लगायतका विभिन्न कार्यक्रमहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा आफ्नो भनाइ राख्दै प्रमुख अतिथी सत्यालले आजका बालबालिकाहरू नै भविष्यका कर्णधार हुन् ,त्यसैले उनीहरुको उज्ज्वल भविष्यको लागि विद्यालय, अभिभावक र समाजले सकारात्मक सन्देश प्रवाह हुने गरि काम गर्नुपर्ने बताउँदै अप्टिमिस्ट इन्टरनेशनलको बारेमा बताएका थिए। विशेष अतिथि दिप प्रसाद धमलाले हामी नेपाली भएर नेपालीपन, नेपाली संस्कृति र नेपाली कला जोगाउनु पर्छ भन्ने कुरा विद्यालयले प्रमाणित गरी सोहीअनुसारका कार्यक्रम गरेकोमा विद्यालय परिवारलाई विशेष धन्यवाद दिएका थिए। कार्यक्रममा बोल्दै विद्यालयका प्र.अ. मेघराज बजगाईले विद्यालयले गरेका विभिन्न गतिविधि, हाँसिल गरेका उपलब्धि एवं भावी कार्यक्रमहरूको बारेमा अभिभावकहरु माझ राखेका थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले अभिभावकहरुलाई विद्यार्थीहरूको रुचि र इच्छा अनुसार विद्यालयको सल्लाहमा विद्यार्थीहरूलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि सँगसँगै लानु पर्ने कुरा अनुरोध गरे भने पछिल्लो समय सबैमा मोबाइलको लत लाग्ने गरेकोमा बालबालिकालाई तालिका बनाई मोबाइल चलाउन दिइनु पर्ने कुरा बताए । कार्यक्रममा स्वदेशी पिय पदार्थलाई प्राथमिकता दिने उद्देश्यका साथ नेपाल डेरी एसोसिएसनले शुरु गरेको मोही अभियान यस विद्यालयमा विद्यार्थीहरु माझ मोही सेवन गराई अझ थप अगाडि बढेकोमा खुशी ब्यक्त गर्दै त्यसमा आफू आवद्ध रहेको ओखलढुंगे डेरी उद्योग बालकोटद्वारा विद्यार्थी अभिभावक एवं कार्यक्रममा उपस्थित सबैलाई मोही सेवन गराउने अवसर पाएकोमा विद्यालय परिवारलाई धन्यवाद दिए ।
कार्यक्रममा साना-साना विद्यार्थीहरूले उद्घोषण गर्दा अत्यन्तै आकर्षक देखिएको थियो भने कार्यक्रमको अन्त्यमा विद्यालयका शिक्षक शिक्षिकाहरुले नृत्य प्रस्तुत गर्दा अभिभावकहरूले अत्यन्तै रुचिका साथ अवलोकन गरेका थिए । विद्यालयले विभिन्न समयमा विभिन्न फरक खालका कार्यक्रमहरू प्रस्तुत गर्ने गरेको कुरा विद्यालयका निर्देशक मनोज कुमार दाहालले बताए । कार्यक्रम संचालन विद्यालयकी शिक्षिका अनिता दंगालले गरेकी थिइन ।
