News Desk
काठमाडौं – प्रजातन्त्र दिवस २०८१ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रलाई राष्ट्रिय एकता, सामाजिक न्याय, समानता, सद्भाव, र समृद्धिको बलियो आधारका रूपमा अगाडि बढाउनुपर्ने बताएका छन्। उनले जनता नै राज्य शक्तिको मूल स्रोत भएको र लोकतन्त्र जनताको संघर्ष तथा सहिदहरूको बलिदानको परिणाम भएको स्मरण गरे।
उनले भने, "नेपालको सार्वभौमसत्ता जनतामा निहित छ। संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो सात दशक लामो संघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धि हो। प्रजातन्त्र दिवस नेपालका लागि गौरवपूर्ण र अविस्मरणीय दिन हो।"
यसै अवसरमा पूर्वराजा ज्ञानेन्द्रले पनि आफ्नो सन्देश जारी गर्दै त्यागले कसैको कद नघट्ने धारणा व्यक्त गरेका छन्। उनले राजगद्दी त्यागे पनि अहिलेको व्यवस्थाले अपेक्षाअनुसार परिवर्तन गर्न नसकेको आरोप लगाए।
"प्रजातन्त्र भनेको जनताको आशा र विश्वास जगाउने प्रणाली हो। यसले जनतालाई सुखी र खुसी बनाउनु पर्छ। तर, व्यवस्था परिवर्तन गर्नेहरूले अवस्था सुधार्न सकेनन्, जुन दुःखद कुरा हो," उनले भने। साथै, उनले इतिहासको सम्मान गर्नुपर्ने र पहिचान मेटिने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए।
प्रजातन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरिएका छन् भने देशभर उत्साहजनक रूपमा यस दिवस मनाइँदैछ।