News Desk
काठमाडौं, फागुन ९ – ईश्वरलाल प्रतिष्ठानको आयोजनामा नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष एवं पूर्व मन्त्री राजेशकाजी श्रेष्ठको जीवनी 'व्यक्तित्व र योगदान' पुस्तक विमोचन कार्यक्रम आयोजनामा आएको छ ।
शुक्रबार, फागुन ९ गते काठमाडौंको होटल याक एण्ड यति, दरबारमार्गमा आयोजित भव्य समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो।
यस अवसरमा प्रधानमन्त्री ओलीले राजेशकाजी श्रेष्ठको योगदानको उच्च प्रशंसा गर्दै नेपाली व्यवसायिक क्षेत्रलाई थप समृद्ध बनाउन यस्ता प्रेरणादायी व्यक्तित्वहरूको भूमिकालाई सम्मान गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले राजेशकाजी श्रेष्ठको योगदानको उच्च प्रशंसा गर्दै भन्नुभयो, "नेपालको व्यवसायिक क्षेत्रमा यस्ता प्रेरणादायी व्यक्तित्वहरूको भूमिकाले मात्र मुलुकको आर्थिक समृद्धिलाई गति दिन सक्छ। उद्यमशीलता, परिश्रम र इमान्दारिताको संगमले सफलता सम्भव बनाउँछ, जसको उदाहरण राजेशकाजी श्रेष्ठ हुनुहुन्छ।"
प्रधानमन्त्री ओलीले भन्नुभयो, , "नेपाललाई समृद्ध बनाउने हाम्रो अभियानमा उद्योग–व्यवसायको महत्त्वपूर्ण भूमिका छ। निजी क्षेत्रको विकास र योगदानलाई उचित सम्मान गर्दै यस्ता प्रेरणादायी व्यक्तित्वहरूलाई हौसला दिनु आवश्यक छ।"
ईश्वरलाल प्रतिष्ठानका अध्यक्ष प्रदीपलाल श्रेष्ठले प्रतिष्ठानले नेपालको व्यवसायिक इतिहास र व्यक्तित्वलाई उजागर गर्दै आगामी पुस्तालाई प्रेरणा प्रदान गर्ने उद्देश्यले जीवनी प्रकाशन गर्दै आएको बताउनुभयो। यस वर्ष राजेशकाजी श्रेष्ठको योगदानलाई कदर गर्दै उहाँको जीवनी सार्वजनिक गरिएको उहाँले उल्लेख समेत गर्नुभयो।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस कुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, बरिष्ठ उपाध्यक्ष दिपक मखोत्रा, उपाध्यक्ष उर्मिला श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकाल, धर्मपत्नी पदमादेवी श्रेष्ठ एवम परिवारजनका सदस्यहरु लगायतका उद्योगी–व्यवसायी, प्रतिष्ठानका पदाधिकारी तथा विभिन्न क्षेत्रका गण्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवं प्रतिष्ठानकी संस्थापक सदस्य उर्मिला श्रेष्ठले राजेशकाजी श्रेष्ठको व्यतित्व उद्योगी व्यवसायीका लागि मात्र नभई समग्र देशबासीका निम्ति अनुकरणीय रहेकोले ‘व्यक्तित्व र योगदान’ कृति प्रेरणादायी रहने बताउनुभयो ।
कार्यक्रममा उपस्थित विशिष्ट वक्ताहरूले राजेशकाजी श्रेष्ठको व्यवसायिक यात्रा र योगदानको चर्चा गर्दै उहाँको जीवनी भावी पुस्ताका लागि मार्गदर्शक बन्ने विश्वास व्यक्त गरे।
पुस्तक 'व्यक्तित्व र योगदान' मा राजेशकाजी श्रेष्ठको जीवन यात्रा, व्यवसायिक सफलताका रहस्यहरू, नेपालका उद्योग-व्यवसायमा पुर्याएको योगदान तथा उहाँको सामाजिक उत्तरदायित्वसम्बन्धी विविध पक्ष समेटिएको छ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष महेश्वर अग्रवाल र राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यलाई सम्मान समेत गर्नुभयो ।