News Desk
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्थानीय परिकारलाई प्रवर्धन गर्नुपर्नेमा जोड दिएका छन।
शनिवार स्वयम्भू महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन। उनले नेपालको विशेषता भनेकै स्थानीय परिकार, संस्कृति, धर्म, कला भएको उल्लेख गरे। उनले महोत्सवले नेपालको संस्कार, संस्कृति, धर्म, कला र परिकारको प्रवर्धन गर्ने बताए।
उनले युवा पुस्तालाई स्थानीय परिकार, धर्म, संस्कृति र कलाको महत्त्व बुझाउन सके नेपालले धेरै प्रगति हासिल गर्ने बताए। उनले नेपाली परिकारहरू धेरै पौष्टिक रहेको उल्लेख गर्दै अहिले विदेशीहरूले सिको गरेर खाने गरेको बताए।
मेयर साहले भने, ‘हाम्रो विशेषता नै यही हो। हाम्रो धर्म संस्कृति, कला र खाने परिकार सँगसँगै जाने भएकाले यस्तो महोत्सवले यी तीनवटै कुरालाई प्रचार प्रसार गर्ने र नयाँ पुस्तालाई पनि हाम्रो परिकार के हो भन्ने बुझाउने मौका पनि हो। अहिलेको नयाँ पुस्तालाई यो खानेकुरा खाँदा के असर गर्छ, यसमा क्याल्सियम छ कि छैन ? प्रोटिन छ कि छैन। यस्तो कुराको जानकारी एकदमै लिन खोज्छ। हाम्रो स्थानीय परिकारमा एकदमै धेरै पोषणतत्त्व हुन्छ। यसको हामीले प्रचार गरिरहेका हुँदैनौँ।’
स्थानीय पहिचान र सम्भावना प्रवर्धनका लागि काठमाडौँ महानगर-१५ को आयोजनामा एकहप्ते स्वयम्भू महोत्सव आजबाट शुरु भएको हो।