गैरकानूनी बाटोबाट वैदेशिक रोजगारीमा गएकाहरुलाई कानूनी मान्यता नदेउ : सांसद कोईराला
News Desk
Feb-24 , 2025 तारिख 12:17 बेलुका

नेपाली कांग्रेसकी सांसद रमा कोईरालाले गैरकानूनी बाटोबाट वैदेशिक रोजगारीमा गएकाहरुलाई सरकारले कानूनी मान्यता दिन नहुने बताएकी छन्।

आइतवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएकी हुन्। उनले गैरकानूनी बाटोबाट वैदेशिक रोजगारीमा पठाउने मेनपावर कम्पनीहरुलाई समेत आवश्यक कारबाही गरिनुपर्ने बताइन्। 

तत्कालीन कांग्रेसको सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको सहजताका लागि भन्दै फ्रि भिसा फ्रि टिकेटको व्यवस्था गरेको भए पनि अहिले कार्यान्वयनमा आउन नसकेको उनको भनाइ छ। 

‘फ्रि भिसा, फ्रि टिकेटको प्रावधान नेपाली कांग्रेसको सरकार हुँदा नै सुरु भएको हो तर अहिले वैदेशिक रोजगार व्यवसायीहरुले त्यसलाई लागू गर्न सक्दैनौँ भनेर अस्विकार गर्नुभयो। त्यो श्रमिकको हितमा थियो तर त्यसलाई कार्यान्वयन गर्न सकेको अवस्था छैन‚’ उनले भनिन्, ‘अहिले भिजिट भिसाको नाममा नेपालबाट इलिगल रुपमा पठाउने काम भइरहेका छन्। त्यसरी गएकाहरुलाई लिगल लाइसेन्स दिनु हुँदैन। यसरी भिजिट भिसाको नाममा इलिगल बाटोबाट पठाउने वैदेशिक रोजगार कम्पनीहरुलाई कारबाही पनि गरिनुपर्छ।’

उनले सरकारले वैदेशिक रोजगारीको नाममा गैरकानूनी रुपमा गएकाहरुलाई कानूनी मान्यता दिए वैदेशिक अपराध बढ्ने भन्दै त्यस्तो गर्न नहुने बताइन्।