"कांग्रेस सत्ता र सरकारका लागि बेइमानी गर्दैन" : गगन थापा
News Desk
Feb-25 , 2025 तारिख 12:05 बेलुका

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता र सरकारका लागि कांग्रेसले बेइमानी नगर्ने बताएका छन।

प्युठानमा आज (सोमवार) आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै उनले अहिलेको सत्ता गठबन्धन पूरा कार्यकाल टिक्ने दावीसमेत गरेका छन। 

कांग्रेसले एमालेसँग गरेको समझदारीअनुसार सरकार २०८४ सालसम्म नै जाने उनले दावी गरे। 

“अबको ३ वर्ष सरकार स्थिर रूपमा सञ्चालन गर्छौं‚ कुनै उपद्रो र चकचक गर्दैनौँ। कांग्रेस सत्ता र सरकारका लागि बेइमानी गर्दैन,’’ उनले भने, “यदि सम्झौता गर्नैपर्ने अवस्था आयो भने कांग्रेस सरकार छाड्न तयार छ। प्रजातान्त्रिक अधिकारमाथि कुनै सम्झौता हुँदैन।’’

उनले कांग्रेस र नेकपा एमालेबीच सम्बन्ध बराबरीको हुने बताए। 

“हामी न त एमालेलाई हेप्छौँ, न त आफू हेपिन तयार छौँ। केन्द्रदेखि जिल्ला तहसम्म समान व्यवहार हुनुपर्छ‚’ उनले भने, ‘कुनै दुर्व्यवहार भए सहेर बस्दैनौँ। हामी अबको ३६ महिना विधि, शासन र परिणाममुखी सरकार सञ्चालन गर्न चाहन्छौँ। यो समयको अधिकतम उपयोग गर्ने लक्ष्य छ।’’

विगतका दशक शान्ति प्रक्रिया र संविधान कार्यान्वयनमा बितेको उल्लेख गर्दै थापाले २०८० देखि २०९० लाई विकास र निर्माणको दशक बनाउने प्रतिबद्धता व्यक्त गरे। 

महामन्त्री थापाले पार्टीको १५औँ महाधिवेशन र ०८४ सालको चुनावबारे छलफल गर्ने समय नआइसकेको पनि बताए।

 

​​​​​