News Desk
काठमाडौं – आयोडिन मन्थ (फरवरी) २०२५ को अवसरमा राष्ट्रिय उपभोक्ता मंचको आयोजनामा आयोडिनयुक्त नूनको सही उपभोग सम्बन्धी सचेतनामुलक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय उपभोक्ता मंचका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनको सभापतित्व तथा संघीय प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति अब्दुल खानको विशेष उपस्थितिमा सम्पन्न भएको हो ।
केन्द्रीय स्तरमा आयोजित कार्यक्रममा बाणिज्य विभागका महानिर्देशक राजन पौडेल, खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागका उपमहानिर्देशक सोमकान्त रिजाल, स्वास्थ्य मन्त्रालय, बाल पोषण शाखाका प्रमुख लिलाबिक्रम थापा, साल्ट ट्रेडिङ कर्पोरेशनका नायव प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीलगायतका विज्ञ तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सभापति अब्दुल खानले आयोडिन जनस्वास्थ्यसँग जोडिएको संवेदनशिल बिषय भएकाले यस उपर राज्यको बिशेष ध्यान जान आवश्यक रहेको जनाउनु हुँदै स्वास्थ्य मन्त्रालयले अनुसन्धान कार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै उहाँले बजारमा चलेका विभिन्न हल्लाहरूको वैज्ञानिक सत्यताबारे स्पष्ट पार्नुपर्ने आवश्यकतामा जोड दिँदै भन्नुभयो “नुन हाम्रो स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो। उपभोक्ताले सही जानकारी पाउने वातावरण सिर्जना गर्न सरकारले प्रभावकारी भूमिका खेल्नुपर्छ।"
बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले नेपालमा नुन बिक्री को अनुमति साल्ट ट्रेडिङलाई मात्र भएकाले यदि अरु कुनै फर्म वा कम्पनीले अवैध तबरले नुनको कारोबार गरेको थाहा हुन आएमा त्यस्ता बिक्रेता एवम् कारोबारीहरुलाई कार्वाही गरिने उल्लेख गर्दै अनुगमन कार्य समेत चुस्त पारिएको उहाँले उल्लेख गर्नुभयो । साथै उहाँले आयोडिनयुक्त नुन जनस्वास्थ्यसँग जोडिएको बिषय हुनाले यस बिषयमा सचेतना अभिब्रिद्धीमार्फत आम उपभोक्तालाई जागरुक बनाउन आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
त्यसैगरि खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागका उपमहानिर्देशक सोमकान्त रिजालले आयोडिनयुक्त नुन गुणस्तर सम्बन्धी कानुनी र प्रविधिगत पक्षबारे जानकारी दिँदै भन्नुभयो “खाद्य सुरक्षाको मापदण्डभित्र आयोडिनयुक्त नुनलाई नियमित रूपमा परीक्षण गरिँदै आएको छ। सरकारले तोकेको मापदण्ड अनुसार साल्ट ट्रेडिङले दुई बाल बालिकाको लोगो चिन्ह अंकित नुन बिक्री वितरण गर्दै आएको छ । उपभोक्ताले ढुक्क भएर नुन सेवन गर्दा हुन्छ ।"
स्वास्थ्य मन्त्रालय, बाल पोषण शाखाका प्रमुख लिलाबिक्रम थापाले नुन र पोषणको सम्बन्धबारे वैज्ञानिक अध्ययन प्रस्तुत गर्दै भन्नुभयो , "आयोडिनयुक्त नुनको सही उपभोग आवश्यक छ, किनभने यसको कमीले गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ। नेपाल सरकारले यो विषयलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ।"
साल्ट ट्रेडिङ कर्पोरेशनका नायव प्रनुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले नुन प्याकेजिङ प्रणालीबारे स्पष्ट पार्दै कर्पोरेशनले नुन प्याकेजिङका क्रममा सरकारले तोके बमोजिम नै आयोडिन मिसाउने गरेको र उक्त निर्देशन विपरित जान नमिल्ने बताउनुभयो । साथै उहाँले गुणस्तरीय नुनको आपूर्ति सुनिश्चित गर्दै नेपाललाई युनिभर्सन साल्ट आयोडाईजेसनको लक्ष्य प्राप्ती गर्न सफल तुल्याएको बारे पनि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्नु हुँदै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नेपाली बजारमा नुनको अवैध कारोबार गर्ने उपर कडा कारबाही गर्नुपर्ने माग राख्नुहुँदै बजारमा अवान्छनिय गतिविधि हुन नदिन सरकारी संयन्त्र सदैव सजक र चनाखो हुनु पर्ने बताउनुभयो । साथै उहाँले बजारमा कुनै अपुष्ट हल्ला फैलिएमा सरकारले त्यसको जवाफदेहिता उठाउनुपर्ने भन्दै उपभोक्तालाई पनि सचेत रहन आग्रह गर्नुभयो ।
कार्यक्रमको सञ्चालन राष्ट्रिय उपभोक्ता मञ्चका महासचिव अधिवक्ता पुष्पराम पौड्यालले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन मञ्चकी उपाध्यक्ष उर्मिला जोशीले गर्नुभएको थियो ।
अन्तरक्रियाका क्रममा सहभागीले आयोडिनयुक्त नुनको सही उपभोग, बजारमा फैलिएका अफवाह, गुणस्तर मापन तथा आपूर्ति आदी विषयमा प्रश्न राखेका थिए भने सरकारी अधिकारीहरुले जवाफ दिनुभएको थियो ।