अडियो टेप बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले गरे आत्महत्या
News Desk
Feb-26 , 2025 तारिख 12:31 बेलुका

बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाले आत्महत्या गरेका छन। उनले सोमबार राति गहुँमा राख्ने विषादी ट्याब्लेट सेवन गरेर आत्महत्या गरेको प्रहरीले बताएको छ।

धादिङको धुनिबेँसी नगरपालिका–९ घर भएका थापा केही महिनाअघि मात्रै मन्त्री श्रेष्ठको स्वकीयमा नियुक्त भएका थिए। 

प्रदेशको सहकारी मन्त्रालय मातहतमा रहेको सहकारी महाशाखाले गत पुस २८ गते समस्याग्रस्त सहकारी घोषणा गरेको सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिडेटको विषयमा फोनमा गरेको कुराकानी बाहिरिएपछि थापाले आत्महत्या गरेको खुलेको छ। 

थापा र धादिङकै अर्का कांग्रेस नेता राजु बर्तौलासँग मिलेर समयाग्रस्त घोषणा भएको सुमेरुको फाइल सहकारी महाशाखाको सिस्टमबाटै हटाइदिने भन्दै पैसामा बार्गेनिङ गरेको अडियो रेकर्ड बाहिरिएको थियो।

यसपछि सहकारी मन्त्रीको निर्देशनमा अडियो रेकर्डमा नाम जोडिएका राजु बर्तौलालाई सोमबार  बिहानै प्रहरीमा उजुरी दिएर पक्राउ गर्न लगाएका थिए।

बर्तौला पक्राउ परेपछि सँगै फोनवार्ता गरेका थापाले १ पानाको सु–साइट नोट लेखेर विष सेवन गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) अपिलराज बोहोराले जानकारी दिए। 

उनका अनुसार सोमबार दिउँसो २ बजे कालिमाटीमा रहेको साथीको कोठामा विष सेवन गरेको अवस्थामा फेला परेका थापाको साँझ ६ः३० तिर उपचारको क्रममा सहिद मेमोरियल अस्पताल, कलंकीमा मृत्यु भएको हो। 

सामाजिक सञ्जालमा भेटिएको उक्त अडियो रेकर्डमा सुमेरु सहकारीका पूर्वसचिव विनोद आचार्य, कांग्रेस नेता राजु बर्तौला र मन्त्रीका स्वकीय सचिव थापाबीच कुराकानी भएको प्रहरीले जनाएको छ।