News Desk
जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दिबासको बगरमा पतेरा (किरा) टिप्नेहरुको भीड लागेको छ। आज बिहानदेखि गाउँमा एकाएक पतेरा आएपछि टिप्नेहरुको भीड लागेको स्थानीय कुमारी गुरुङले बताइन।
“सिर्दिबास र फिलिम जोड्ने पुलमुनि आज बिहानदेखि पतेरा देखा परे, त्यसपछि गाउँलेहरु एकाएक टिप्न गए”, उनले भनिन्, “बगरमा पतेरा किनबेचसमेत हुन थालेको छ। बिहान प्रतिकिलो २ हजार रुपैयाँमा किनबेच भएकामा दिउँसो प्रतिकिलो ३ हजारमा कारोबार भयो।”
उक्त पतेरा कसले, कहाँ र के प्रयोजनका लागि लैजान लागेको हो भन्नेबारे केही थाहा नभएको गाउँलेको भनाइ छ।
उनका अनुसार एकजनाले २ देखि ३ केजीसम्म पतेरा टिपेका छन। सो वडाका वडाअध्यक्ष रामकुमार गुरुङले पनि गाउँको बगरमा एकाएक पतेरा आएपछि गाउँलेहरु टिप्न गएको बताए।
“यसरी मान्छेहरु गएका छन भन्ने कुरा दिउँसोमात्र थाहा पाएँ तर किन र कहाँ लैजाने भन्नेबारे पत्ता लगाउन सकेको छैन”, उनले भने। टिप्न जानेहरुले तरकारी हुन्छ रे भनेर सुनाएको उनले बताए।
यस विषयमा मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)मा समेत जानकारी गराइएको छ। यस क्षेत्रमा ठूलो सङ्ख्यामा पतेरा आएको पहिलोपटक भएको वडाअध्यक्ष गुरुङ बताउँछन।
“पहिला गाउँमा खुसार्नीका बोटमा १/२ वटा पतेरा लागेको थाहा थियो, अहिले बूढीगण्डकीको किनारभरि पतेरा छ। कहाँबाट आयो थाहा भएन”, उनले भने।