भारत सरकारको आर्थिक सहयोगमा निर्मित बारा जिल्लाको बंगारी नदी माथि निर्माण गरिएको पुल उद्घाटन
News Desk
Mar-01 , 2025 तारिख 01:51 बिहान

बारा । भारत सरकारको आर्थिक सहयोगमा निर्मित बारा जिल्लाको बंगारी नदीमा भलुही-भरवलिया–८ मा निर्माण गरिएको पुल उद्घाटन गरिएको छ ।

पुलको उद्घाटन नेपाल सरकार सडक विभागका अधीक्षण इन्जिनियर शुभ राज न्यौपाने र भारतको महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मीनाले संयुक्त रूपमा गरेका हुन् ।

नेपाल-भारत विकास सहयोगअन्तर्गत भारत सरकारको अनुदान सहयोगमा १.९६ करोड नेपाली रुपैयाँ लागतमा निर्माण भएको उक्त आरसिसी पुलले भलुही-भरवलिया, फेटा तथा आसपासका गाउँहरूलाई वीरगञ्ज महानगरपालिकासँग सिधा यातायात सम्पर्क प्रदान गर्नेछ ।

सन् २००३ देखि भारत सरकारले नेपालमा ५६३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू (एचआइसीडीपी) सञ्चालन गरिसकेको छ ।

वीरगञ्ज महावाणिज्य दूतावासको अधिकार क्षेत्रमा ७४ परियोजनाहरू स्वीकृत गरिएकामध्ये ५६ परियोजनाहरू सम्पन्न भइसकेका छन् । भारत सरकारले बारा जिल्लाका अस्पताल, स्वास्थ्य केन्द्र तथा शैक्षिक संस्थाहरूलाई १३ एम्बुलेन्स र ४ विद्यालय बसहरू उपलब्ध गराइसकेको छ ।

नयाँ पुलको निर्माणले स्थानीय समुदायको यातायात तथा जीवनस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

DIPU BARNWAL