एमाले र कांग्रेसले असन्तुष्ट भएका दललाई सहमतिमा ल्याएर फागुन तेस्रो साता सदनमा अध्यादेश पेश गर्ने
News Desk
Mar-01 , 2025 तारिख 01:17 बेलुका

सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले असन्तुष्ट भएका दललाई सहमतिमा ल्याएर फागुन तेस्रो साता नै सदनमा अध्यादेश पेश गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रवार साँझ बसेको दुई दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो।

त्यसका लागि सत्ता साझेदारदलहरूको बैठक भोलि र पर्सी बस्ने भएको छ। एमाले प्रमुख सचेतक महेश बर्तौलाले यसबीचमा असन्तुष्ट दलहरूसँग छलफल गर्ने र सम्भवत २१ गते नै अध्यादेश पेश गर्ने जानकारी दिए।

दुवै सदन फागुन २१ मा बस्दै छ। फागुन २१ मा पेश नभए २२ मा पेश हुने उनले बताए। त्यसका लागि सरकारमा सहभागी सबै दलसँग अबको दुई दिन छलफल गर्ने पनि उनले जानकारी दिए।

बैठकमा एमालेबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र प्रमुख सचेतक महेश बर्तौंला तथा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र प्रमुख सचेतक श्याम घिमिरेलगायत सहभागी थिए।