गैर आवासीय नेपाली सोसल क्लब ओमानको आठौं महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
News Desk
Mar-01 , 2025 तारिख 11:26 बेलुका

मस्कट, ओमान – गैर आवासीय नेपाली सोसल क्लब ओमानको आठौं महाधिवेशन हिजो भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनले (२०२५-२०२७) कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै सुरेश खड्कालाई अध्यक्ष र बिनोद श्रेष्ठलाई महासचिव पदमा निर्वाचित गरेको छ।

निर्वाचित अध्यक्ष खड्काले आफ्नो कार्यकालमा प्रवासी नेपालीहरूका हकहित, कल्याणकारी कार्यक्रम तथा सामाजिक गतिविधिहरूलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। महासचिव श्रेष्ठले समेत क्लबको गतिविधिहरूलाई थप प्रभावकारी बनाउने योजना रहेको बताए।

नयाँ कार्यसमितिका अन्य पदाधिकारीहरू पनि चयन भएका छन्, जसमा विभिन्न सामाजिक अभियन्ताहरूको प्रतिनिधित्व रहेको छ। महाधिवेशनमा क्लबका सदस्य, नेपाली समुदायका अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

गैर आवासीय नेपाली सोसल क्लब ओमानले विगत वर्षहरूमा नेपाली समुदायका लागि विविध सामाजिक, सांस्कृतिक तथा सहयोगी कार्यक्रम गर्दै आएको छ।