News Desk
रियाल बेटिससँग २-१ गोल अन्तरले पराजित भएपछि रियाल मड्रिडले ला लिगाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । बेटिसका लागि इस्कोले आफ्नो पूर्व क्लबविरुद्ध विजयी गोल गरे ।
पाहुना टोली रियाल मड्रिडले सुरुवाती अग्रता जोगाउन नसक्दा हारको सामना गर्नु परेको हो । १०औं मिनेटमा कीलियन एम्बाप्पेले फेर्लान्ड मेन्डीलाई उपलब्ध गराएको बल मेन्डीले ब्राहिम डियाजलाई मिलाइदिएका थिए । डियाजले कुनै गल्ती नगरी गोल गरेपछि रियालले सुरुवाती अग्रता बनाएको थियो ।
तर, ३४औं मिनेटमा इस्कोको कर्नरमा जोनी कार्डोसोले हेडरमार्फत बराबरी गोल फर्काए । ९ वर्ष मड्रिडमा बिताएका इस्कोले यस खेलमा बेटिसको कप्तानी गरेका थिए । उनले ५४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बोटिसलाई जित दिलाए । एन्टोनियो रुडिगरले जेसुस रोड्रिगेजलाई फउल गरेपछि बेटिसले पेनाल्टी पाएको थियो ।
बेटिसले तेस्रो गोल गर्ने अवसर पनि पाएको थियो । म्यानचेस्टर युनाइटेडबाट लोनमा आएका एन्टोनीले उत्कृष्ट पास दिएपछि कुचो हर्नान्डेजका लागि सहज अवसर सृजना भएको थियो । तर, उनले फिनिस गर्ने सकेनन । यससँगै बेटिस २६ खेलमा ३८ अंक सहित ला लगाको छौटौं स्थानमा उक्लिएको छ । ५४ अंकसहित रियाल तेस्रो स्थानमा छ ।