News Desk
काठमाडौं । करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३९ वर्षीया कल्पना गैरेलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार, गणेश ढकालले दिएको जाहेरीका आधारमा उनलाई काठमाडौंको बानेश्वरस्थित गैरीगाउँबाट पक्राउ गरिएको हो। काठमाडौँ जिल्ला अदालतको पक्राउ आदेशपछि अपराध अनुसन्धान कार्यालयले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि माइतीघर प्रहरी कार्यालयमा बुझाएको छ।
गैरेमाथि जबरजस्ती चोरी, ठगी, र आपराधिक लाभ लिएको आरोप लागेको छ। प्रहरीले उनी फरार हुने र प्रमाण नष्ट गर्ने सम्भावना रहेकाले तत्काल पक्राउ गरिएको जनाएको छ।
पाल्पा घर भई कैलालीको धनगढी उपमहानगरपालिका बस्दै आएकी गैरे मिटर ब्याजमा ठगी गरेको आरोपमा केही समयअघि धनगढीको चौराहामा कुटपिटसमेतमा परेकी थिइन्।
उद्योग वाणिज्य संघको केन्द्रीय सदस्य रहिसकेकी गैरे कैलालीको अत्तरिया र धनगढीमा ‘धर्मरुद्र’ नामक अस्पताल सञ्चालन गर्दै आएकी थिइन्। हाल उक्त अस्पताल बन्द रहेको बताइएको छ।