‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
News Desk
Mar-03 , 2025 तारिख 12:00 बेलुका

प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ। 

सभाको बैठकमा यसअघि उपप्रधानमन्त्री एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस भनेर प्रस्ताव प्रस्तुत गरेका थिए। 

यसैगरी, प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘विद्युतीय व्यापार विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि सहमति गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ। यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सो प्रस्ताव प्रस्तुत गरेका थिए। 

प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘विधायनसम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सो प्रस्ताव प्रस्तुत गरेका थिए।